‘धार्मिक एकताबाटै विश्वशान्ति’

प्रकासित मिति: २१ माघ २०७४, आईतवार १०:५२

ललितपुर : विश्वमा शान्ति स्थापनाका लागि धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहने मान्यतालाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसंघीय ‘वल्र्ड इनटरफेथ हार्मोनी विक’ (विश्व अन्तरधार्मिक मेलमिलाप सप्ताह) मनाइँदै आएको छ । हरेक वर्ष फेब्रुअरीको पहिलो साता विश्वभर मनाइने उक्त अन्तरधार्मिक सप्ताह नेपालमा पनि युनिभर्सल पिस फेडरेशन नेपालको आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।
आइतबार युनिभर्सल फेडेरेशन (युपिएफ) नेपालले नागार्जुन एकेडेमी, ललितपुरमा आयोजित कार्यक्रममा विभिन्न धर्मका धार्मिक गुरुहरूलाई एकसाथ सहभागी गराई यो दिवस मनाएको हो । युपिएफ नेपालका महासचिव विनोद डाँगीका अनुसार, समारोहमा मुस्लिम, बौद्ध, हिन्दू, क्रिश्चियन, बहाईलगायत धर्मका धर्मगुरुको सहभागिता थियो । उनीहरूले धार्मिक एकता, समानता, मेलमिलाप तथा भातृत्वले मात्रै विश्वमा शान्ति स्थापना गर्न सकिने बताए ।
समारोहमा शिक्षाविद् सुनिल विक्रम सिजापति, पूर्वसांसद मिलन कुमारी राजवंशीलगायतको विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।
विश्वमा धार्मिक युद्ध भयो भने यसले ठूलो धनजनको क्षति पु¥याउने विगतका नजिरलाई समेत मध्यनजर गरी विश्वमा द्वन्द्व नहोस् भन्नका खातिर संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् २०१० मा इन्टरफेथ हारमोनी विक मनाउने घोषणा गरेको थियो । सोहीअनुरूप सन् २०११ देखि यो सप्ताह विश्वका विभिन्न देशमा मनाइँदै आएको हो ।
यसैबीच, समारोहमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील पाँचजना व्यक्तित्वलाई युनिभर्सल पिस फेडेरेशन, नेपालले ‘शान्तिदूत’ सम्माबाट सम्मानित गरेको छ । यसरी सम्मानित हुनेमा, डा. विशु भण्डारी मानन्धर, सन्ध्या श्रेष्ठ, नवराज थपलिया, आदेश राई तथा सदन दोदारी रहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement