धार्मिक तथा साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सहयोग गर्छु – गुरुङ

प्रकासित मिति: ५ मंसिर २०७५, बुधबार १५:२३

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नर बहादुर गुरुङले बारपाक सुलिकोटको बाह्रमुले क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सहयोग गर्ने बताउनुभएको छ । गत बुधबार बाह्रमुलेमा भएको “तेस्रो बृहत् साँस्कृतिक मेला”को समुद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । एकादशीको अवसरमा आयोजित मेलामा सामाजिक आन्दोलनका अगुवा समेत रहेका गुरुङले बाह्रमुले थान जुगौ पुरानो आस्थाको थान रहेको भन्दै यसको संरक्षण र व्यवस्थापन गरि त्यस क्षत्रको संस्कृतिको प्रचार गरेर बाह्रमुलेलाई पर्यटकीय गन्तव्य बनाउन सकिने दाबि गर्नुभयो । “बाह्रमुले दैविक शक्ति भएको थान भएको भन्ने स्थानीय लामा तथा जान्नेहरुले आफूलाई जानकारी गराउनुभएको छ, यसको पूजा-आरधना गरे मनको इच्छा पूरा हुन्छ पनि भन्नुभएको छ,” गुरुङले भन्नुभयो, “यदि साच्चै नै शक्तिशाली थान बाह्रमुले हो भने आस्थावान भक्तजनहरूको सम्मान गरी अव यसको बृहत् गुरु योजना बनाई तिर्थ स्थलको रुपमा बिकास गर्नुपर्छ ।” त्यस्तैगरी बारपाक सुलिकोट क्षेत्र एेतिहासिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाको खानी भएको भन्दै यश क्षेत्रको बिकासका लागि केन्द्रीय सरकारसम्म योजना लगेर बजेटको लागि सक्रिय रहने जानकारी दिनुभयो । गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका भित्रका ७ वटा गाउँहरुलाई साँस्कृतिक गाउँको रुपमा बिकास गरि होमस्टे संचालनको लागि आफूले स्थानीय सरकार प्रमुखलाई सुझाव दिएको भन्दै बाह्रमुले क्षेत्र धार्मिक तथा साँस्कृतिक क्षेत्रको रुपमा बिकास गर्न जरुरी रहेको बताउनु भयो । प्रकृति र संस्कृतिको खानी बारपाक सुलिकोटलाई नमुना गाउँपालिकाको रुपमा बिकास गर्ने आफ्नो चाहना रहेकोले आफ्नो ब्यक्तिगत जीवन त्यागेर सामाजिक अभियानमा लागेको समेत गुरुङले बताउनु भयो । सदियौं बर्षदेखि ठूलो एकादशीको दिन मान्दै आएको बाह्रमुले थानको मेला गत तीन बर्षदेखि स्थानीय “बाह्रमुले युवा क्लव”ले बृहत् बाह्रमुले साँस्कृतिक मेला आयोजना गर्दै आइरहेको छ । क्लबले एकादशीको अघिल्लो बेलुकाबाट लाग्ने मेलालाई स्वयमसेवकको भूमिका निर्वाह गर्दै मेलालाई भयरहित र व्यवस्थित बनाई संस्कृतिमय बनाउदै आईरहेको छ । उक्त दिन बाह्रमुले थानमा वरपरका स्थानीयहरुले आफ्नो मनको इच्छा पूरा हुन भकल गरि रातभर जाग्रम र पूजापाठ गरि पंचेबाजा तथा स्थानीय संस्कृति झल्कने नाँचगानसहित फुलको डोली चढाउने चलन छ ।

Bhansar Bivag
Argakhachi Cement