काठमाडौँ, २९ वैशाख । निजामती अस्पतालले निजामती कर्मचारी र सर्वसाधारणका लागि जेठ १ गतेबाट बेग्लाबेग्लै समयमा बहिरङ्ग सेवा दिने भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले विशेष गरी कर्मचारीका लागि खोलिएको अस्पताल भन्दै लामो समय पालो कुर्नुपर्ने गुनासो आउन थालेपछि छुट्टाछुट्टै समयमा बहिरङ्ग सेवा दिन लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीले सेवा अवधि बढाउन पटकपटक गुनासो गर्दैआएका थिए । यहाँ सर्वसाधारणको चाप छ । त्यसैलाई व्यवस्थित गर्न दुई सिफ्टमा सेवा दिने निर्णय गरेका हौँ ।”
अस्पतालमा दैनिक छ सयदेखि आठसयभन्दा बढी बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेका छन् । निजामती कर्मचारीका लागि बिहान ९ देखि मध्याह्न १२ बजेसम्म र सर्वसाधारणका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म बहिरङ्गमा सेवा दिइने छ । निजामतीका लागि बिहान ७ देखि ९ बजेसम्म र सर्वसाधारणका लागि बिहान ९ बजेदेखि टिकट लिइसक्नुपर्ने अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले साँझ ५ बजेपछि भने पेइङ सेवाअन्तर्गत पनि डेढ वर्षदेखि सेवा दिँदै आएको छ । पेइङ सेवामा उपचार गराउन चाहने बिरामीले रु २५० को टिकट लिएपछि उपचार गराउन सक्छन् । नियमित समयमा उपचार गराउन रु सयको टिकट लिनुपर्छ