लहान, २१ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ मा पानी बहावका लागि निर्माणाधीन नाला भत्किएको छ ।
जिल्ला समन्वय समिति सिरहाले उपभोक्ता समितिमार्फत निर्माण गर्न लागेको करीब रु ३४ लाखको लागतमा निर्माणाधीन १७५ मि उक्त नाला ठाउँ ठाउँमा भत्किएको छ । नाला निर्माणमा कमसल तथा गुणस्तरहीन सामग्रीको प्रयोग भएकाले वर्षाको पानीले नालालाई भत्काएको स्थानीयवासीले आरोप लगाएका छन् ।
उपभोक्ता समितिका सचिव दिनेश साहले भत्किएको नाला पुनःनिर्माणका लागि जिसससँग छलफल गरिने बताउनुभयो । उपभोक्ता समितिसँग बाँकी रहेको केही रकमबाट भत्किएको स्थानमा नाला निर्माण गर्ने विषयमा छलफल गरिने बताइएको छ ।
यस्तै सिरहाको मिर्चैया थाना चोकदेखि बजार जाने बाटामा निर्माणाधीन नालासमेत सञ्चालन नहुँदै भत्किएको छ । मिर्चैया नगरपालिकाले शक्ति निर्माण कन्स्ट्रक्सनमार्फत करीब रु ३९ लाखको लागतमा करीब ४०० मिको सो नाला बनाउन लागेकामा निर्माण कम्पनीको हेलचेक्र्याइँ र लापरबाहीका कारण नाला भत्किएको स्थानीयवासीले आरोप लगाएका छन् ।
नगरपालिकासँग भएको सम्झौतानुसार ठेकेदारले काम नगरेकाले नबन्दै नाला भत्किएकाले त्यसको छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत स्थानीयवासीले माग गरेका छन् ।
मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले पानीको भार थेग्न नसकेर नाला भत्किएको बताउँदै भत्किएको स्थानमा पुनःमर्मत गरिने बताउनुभयो ।