निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह

प्रकासित मिति: ११ चैत्र २०७३, शुक्रबार १४:१३

काठमाडौँ, ११ चैत । विभिन्न राजनीतिक दलका नेताले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेताहरुले स्थानीय तहको निर्वाचनको मिति सार्नेभन्दा पनि निर्वाचनपछि संविधान संशोधन गर्न सकिने भएकाले उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले पछिल्लो पटक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सकारात्मक भइरहेको अवस्थामा सीमाङ्कनबाहेकका अन्य विषयमा संविधान संशोधन गरेर मधेस केन्द्रित दललाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो ।

एमाले स्थायी समिति सदस्य शङ्कर पोखरेलले सीमाङ्कनबाहेक अन्य विषयमा छलफलसम्म गर्न सकिए पनि यथास्थितिमा संविधान संशोधन गर्न सक्ने अवस्था नरहेको बताउँदै निर्वाचनमा सबै दललाई सहभागी गराउनेभन्दा पनि धेरैभन्दा धेरैलाई सहभागी गराउन सक्नुपर्छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता अग्निप्रसाद सापकोटाले संविधानप्रति असन्तुष्ट सबै दलको सहभागितामा निर्वाचन हुने गरी सकारात्मक वातावरण सिर्जना भएको जिकिर गर्नुभयो । तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले संविधान संशोधन गरी मधेसी समुदायका मागलाई सम्बोधन नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उपे्रतीले ‘तोकिएको मितिमा नै सबै स्थानमा निर्वाचन गराउन गाह्रो हुने भएकाले’ दुई चरणमा सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।

Bhansar Bivag
Argakhachi Cement