इलाम, १६ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा (माओवादी केन्द्र) सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा आज इलामको समालबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले ‘आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, यदि त्यसका लागि अहिलेनै निर्वाचन मिति घोषणा हुँदैन भने प्रचण्ड सरकारमा बस्नुको कुनै अर्थ छैन,’ उहाँले भन्नुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्र डराएका कारण निर्वाचन मिति घोषणा गर्न नसकेको आरोप समेत उहाँले लगाउनुभयो ।
अङ्गीकृतलाई प्रमुख पद दिने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन विदेशीको इशारामा संविधान संशोधनको कुरा आएको बताउँदै उहाँले विदेशीलाई खुसी पार्ने संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नदिने बताउनुभयो ।
निर्वाचन मिति घोषणा नगरे सो घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै उहाँले राष्ट्रलाई कमजोर बनाउने कुनैपनि काम नगर्न सरकारलाई आग्रह गर्नुभयो ।
अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै आफ्नो पार्टीले गाउँ–गाउँमा अभियान सञ्चालन जारी राखेको उहाँको भनाइ थियो । सोही अवसरमा माओवादी, काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी आएका सयजनाभन्दा बढीलाई उहाँले स्वागत गर्नुभयो ।