काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले नेताहरुलाई फूलमाला लाएर सम्मान गर्ने परम्परा त्याग्नुपर्ने बताएका छन् । उनले नेताको सट्टा देउतालाई माला लाउन पनि भनेका छन् । ‘नेताहरु पनि फूलमाला लाउन भनेपछि मरिहत्ते गर्छन्, के गर्न खोजेको हो त्यसको कुनै अर्थ छैन ’ उनले भने ‘ हाम्रो गरिव देशमा फूलमाला र खादा किन्दा नै करोडौं पैसा सकिएको छ त्यो पैसा बेकारमा खेर गएकोमा कसैलाई चिन्ता छैन मलाईमात्र पीर लाग्छ ।’ गुरुप्रसाद लुइटेल अध्ययन तथा बिकास केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको संविधान कार्यान्वयन द्धन्द्धपछिको शान्ति, विकास र सम्वृद्धि विषयक छलफल तथा केन्द्रको चौथो साधारणसभामा गुरुङले फूल किन्दामात्र वार्षिक १० करोड रुपैंया बाहिरिएको बताए । मन्तव्यको शुरुमै उनले आफू कांग्रेस केन्द्रीय सदस्य , सांसदका साथै अभियन्तासमेत भएको बताएपछि खादा र माला अस्वीकार गर्ने अभियान चलाएको पुष्टि गरे । ‘बस्नेबित्तिकै खातका खात माला लगाईन्छ अनि पछाडिबाट अर्काले झिकिदिनुपर्छ फेरि एकैछिनमा टाउको भरिन्छ, के गरेको हो ?’ उनले प्रश्न गरे ‘ नेतृत्वले अब सिक्ने कि नसिक्ने ?’ प्रमुख अतिथिका रुपमा रहेका एमाले महासचिव ईश्वर पोखरेललाई लक्षित गर्दै उनले नेताहरुले सच्चिएर नजाने हो भने देशमा भोलि झन् ठूलो संकट आउने बताए । ‘हामी नालायक बन्दै गएका छौं, जनतामाझ नांगिएका छौं अब जवाफ दिने ठाउँसमेत छैन ’ राजनीतिप्रति निराश हुँदै उनले भने ‘ एउटा राजालाई माथि पठाएर भुरे टाकुरे ६ सय एक राजा हुन त खोजिरहेका छैनौं ।’ संसदले आफ्नो तलब आफैं बढाएकोमा उनले गलत काम भएको टिप्पणी गरे । आफू पैतृक काममा सहभागी हुन स्याङ्जा गएका बेला संसदको तलब बढाउनेसम्वन्धी विधेयक पास गरेको भन्दै उनले थपिएको रकम भूकम्पपीडितको लागि दिएको समेत जानकारी दिए । देशमा लोभीपापी नेता भएकाले यो सोच नहटेसम्म बिकास र उन्नति पनि सम्भव नभएको उनको टिप्पणी छ । राजनीतिमा भ्रष्टीकरण बढ्दै गएकामा चिन्तित उनी भिजन, मिसन र कमिटमेन्टको नहुँदासम्म देशको प्रगति र सम्वृद्धि सम्भव नहुने बताउँछन् । ‘प्रधानमन्त्री र मन्त्री हुन मान्छेहरु मरिहत्ते गर्छन् ,के काम गर्न हो कोही पनि भन्दैनन्, के झण्डा हल्लाउनमात्र मन्त्री हुने कि काम पनि गर्ने ’ उनले भने ‘ संविधान कार्यान्वयन गर्नु आजको प्रमुख कार्यभार हो, हरेक अक्षर पालना गर्नुपर्छ, प्रमुख नेताहरुले नै संविधानविरोधी स्थानीय निकायको निर्वाचन गराउने भन्छन् यसो भन्न मिल्छ र ?’ २०१५ सालमा विपी कोइराला प्रधानमन्त्री हुँदा उनले आफ्नो तलब २५ सय महिनाको बाट पाँच सय र मन्त्रीको तलब १५ सयबाट पाँच सय घटाएको स्मरण गराउँदै यूवा नेता गुरुङले पाँच नम्बर प्रदेश विभाजन गर्नुपर्छ भनेर जनताले नभनेको र नेताकै चाहनामात्र भएकोमा आपत्ति जनाए । उनी दुईपटकसम्म पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी पार्टीले गरेका गलत गतिविधिको पनि खुलेरै विरोध गर्ने गर्छन् । ओखलढुंगाका शिक्षक लुइटेललाई माओवादीले द्धन्द्ध कालमा निर्ममतापूर्वक हत्या गरेका थिए । छोरा फणिन्द्र अध्यक्ष रहेको केन्द्रको कार्यक्रममा लुइटेलकी श्रीमति, गाउँले तथा शुभचिन्तक, मानवअधिकारको क्षेत्रमा कार्यरत व्यक्तिको समेत उपस्थिति रहेको थियो ।