काठमाडौँ, ३० मङ्सिर । मुख्यसचिव डा सोमलाल सुवेदीले नयाँ संविधान घोषणा भएपछि नेपाल राजनीतिक स्थायित्व र आर्थिक समृद्धितर्फ अग्रसर भएको बताउनुभएको छ ।
भारतको कोलकतामा आयोजित समृद्धि आदानप्रदान लागि भारत–एसिया कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले ऊर्जा पर्यटनलगायतका क्षेत्रमा वैदेशिक एवम् निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि नेपालमा उपयुक्त वातावरण सिर्जना भएको बताउनुभयो ।
मुख्यसचिव डा सुवेदीले वैदेशिक लगानीका लागि अझ उपयुक्त वातावरण सिर्जना गर्न नेपालले विद्यमान कानुनमा परिमार्जन गरिरहेको जानकारी दिँदै जलविद्युत्का क्षेत्रमा विदेशी लगानीलाई नेपालले उच्च प्राथमिकता दिएको छ भन्नुभयो ।
कोलकतास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार उहाँले विश्वका उच्च शिखर सगरमाथालगायतका पर्यटकीयस्थल तथा लुम्बिनी र पशुपतिजस्ता धार्मिकस्थल भएकाले नेपाल क्षेत्रीयरुपमा पर्यटकका लागि महत्वपूर्ण मुलुक भएको बताउनुभयो ।
मुख्य सचिव डा सुवेदीले अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकका रुपमा नेपालले पाउनुपर्ने व्यापार र पारवहन सुविधा निर्वाधरुपमा पाउनुपर्ने बताउँदै एसिया र दक्षिणपूर्वी एसियाका मुलुकबीच रेल तथा सडक सञ्जालमार्फत जोडेर व्यापारलाई थप सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
दुई दिनसम्म चलेको उक्त कार्यक्रममा वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, उद्योग सचिव शङ्करप्रसाद कोइराला र महावाणिज्यदूत एकनारायण अर्यालसहितको सहभागिता थियो ।
नेपालीलाई थाइल्यान्ड घुम्न सुविधा
त्यसैबीच थाइ सरकारले यही डिसेम्बर १ देखि आगामी सन् २०१७ को फेब्रुअरीसम्म पर्यटक भिसामा लाग्ने शुल्क (सिङ्गल इन्ट्रिमा) पूर्णरुपमा छुट दिएको छ ।
थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार थाइल्यान्ड घुम्न चाहने नेपाली राहधानीवाहकले उक्त छुटको सुविधा पाउनेछन्