बागलुङ, २१ फागुन । यहाँका मगर समुदाय नौमती बाजाको संरक्षणमा जुटेको छ ।
मगर बाहुल्य गाउँमा मगर बाजाका संस्थागत समूह नै बनेका छन् । परियार समुदायमा बढी प्रचलित नौमती बाजा पछिल्लो समय जनजाति समुदायमा पनि चल्तीमा छ । नौमती बाजा कलासंस्कृतिको संरक्षणसँगै आर्थिकोपार्जनको समेत राम्रो माध्यम हुँदै गएको छ ।
विवाह, व्रतबन्ध, पूजा, अनुष्ठान जस्ता शुभकार्यमा नौमती बाजा बजाउने चलन छ । संस्कृति संरक्षणका लागि भकुण्डे जनजाति नौमती बाजा समूह बनाइएको समूहका अध्यक्ष तुलबहादुर थापाले बताउनुभयो । विसं २०६८ मा गठित समूहमा अहिले १३ मगर कलाकार सदस्य छन् । “मगर कलाकार मिलेर समूह बनाएका हौँ, सुरुमा बाजा भाडामा लिएर बजाउन सिक्यौँ” थापाले भन्नुभयो “अहिले हामीसँग आफ्नै बाजा छन्, समूहमा रु ७० हजार बराबरको कोष पनि छ ।”
विसं २०७० मा रु एक लाख खर्चेर नौमती बाजा किनिएको हो । समूहको कोषमा रहेको पैसा बाजा संरक्षणका काममा खर्च गर्ने गरिएको छ । बिहे हुने महिनामा लगातार १४÷१५ दिनसम्म बाजा बजाउन हिँड्ने गरेको अनुभव समूहका सचिव लालबहादुर थापाले सुनाउनुभयो ।
भकुण्डे गाविसभित्र हुने विवाह, व्रतबन्धमा जाँदा पारिश्रमिक रु १५ हजार तथा सदरमुकाममा रु २० हजार लिने गरिएको सचिव थापाले जानकारी दिनुभयो । पोखरासम्म पुग्दा समूहले प्रतिदिन रु ३५ हजार पारिश्रमिकस्वरुप लिने गरेको छ । समूहले ठाउँ, दूरी र खर्च हुने दिनअनुसार पारिश्रमिक निर्धारण गर्ने गरेको छ । एकमुष्ठ आएको पारिश्रमिक समूहले वाद्यवादनमा खटिने कलाकारलाई न्यायोचित रुपमा वितरण गर्ने गरेको छ । केही रकम समूहको कोषमा पनि जम्मा गर्ने गरिएको छ ।
“बिहे, व्रतबन्ध धेरै पर्ने महिनामा त राम्रो कमाइ पनि हुन्छ” थापाले भन्नुभयो “टाढा–टाढाबाट पनि मगर बाजाको माग आउने गरेको छ ।” थापाले कमाउने उद्देश्यले भन्दा पनि नौमती बाजा संरक्षणका लागि आफूहरु लागिपरेको बताउनुभयो । उहाँका अनुसार अग्रज पदमबहादुर थापा र लालबहादुर थापाको प्रेरणाबाट भकुण्डेमा मगर नौमती बाजा सुरुआत गरिएको हो ।
भकुण्डे जस्तै जिल्लाका दमेक, हिल, अर्गललगायत मगर बाहुल्य गाविसमा नौमती बाजा संरक्षणको अभियान चलेको छ । जनजाति समुदायका कलाकार सङ्गठित रुपमै नौमती बाजाको संरक्षणमा क्रियाशील छन् । आफ्नो समुदायको पहिचानको उजागर तथा कला र सीपको प्रदर्शन गर्न पनि अभियानले सघाएको छ ।