पँुजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम हुनुपर्छः संयोजक डा भट्टराई

प्रकासित मिति: २७ माघ २०७३, बिहीबार १४:२७

काठमाडौँ, २७ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पँुजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा मजदुर सङ्गठनबीच एकता कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘पुँजी लगानी गर्ने मालिक र श्रम लगानी गर्ने मजदुरबीच गतिशील सन्तुलन कायम गरी अघि बढ्न आवश्यक रहेको छ ।’

संयोजक डा भट्टराईले श्रमिकको रोजगारीको सुनिश्चितता गरी स्वरोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउँदै पुँजीको अभावमा रोजगारीको अवसर सिर्जना नहुने र श्रमिकको अभावमा पुँजीको उचित परिचालन हुन नसक्ने भएकाले यसको अन्त्यका लागि पँुजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम हुनुपर्दछ भन्नुभयो ।

मुलुकको आर्थिक विकासका लागि पुराना ट्रेड युनियनको निरन्तरता नभई नयाँ सोंच, विचार र कार्यशैलीसहित काम गर्न उच्च वातावरण तयार गर्न मजदुर नेतालाई उहाँले आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा खगेन्द्र प्याकुरेल नेतृत्वको स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नयाँ शक्ति आबद्ध नेपाल समाजवादी ट्रेड युनियन महासङ्घसँग एकीकरण भएको घोषणा गरियो ।

महासङ्घमा प्याकुरेलसँगै कृष्णप्रसाद सुवेदी, मणिकुमार घिमिरे, राजेश मैनाली, बलबहादुर तामाङ, पाण्डवप्रसाद थपलिया, सनकबहादुर मैनाली, पवनजङ्ग मैनाली, बिन्दा गिरी, निर्मला पौडेल, सत्यनारायण चौधरीलगायत रहनुभएको छ ।

कार्यक्रममा संयोजक खगेन्द्र प्याकुरेलले अन्य पार्टीका नेतृत्वभन्दा नयाँ शक्ति पार्टी र त्यसको नेतृत्वप्रति आफूहरु विश्वस्त रहेर समाजवादी ट्रेड युनियनमा एकीकृत भएको बताउनुभयो ।

नयाँ शक्ति पार्टी, नेपालका सहसंयोजक महेश कोर्मोचा, दुर्गा सोब, सङ्गठन विभाग संयोजक देवेन्द्र पौडेल लगायतले रोजगारमूलक कार्यक्रममा श्रमिकको हकहितलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो

Bhansar Bivag
Argakhachi Cement