३ मंसिर, गोरखा । नेपाल परिवार दलका अध्यक्ष एवं प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार एकनाथ ढकालले विगत पचास वर्षमा हुन नसकेका काम अबका पाँच वर्षमै हुने बताएका छन् ।
चुनावी अभियानका क्रममा गृहजिल्ला गोरखा पुगेका ढकालले एकै दिन भिन्नाभिन्नै ९ वटा स्थानमा आयोजित चुनावी सभामा बोल्दै उक्त कुरा बताएका हुन् । वाम प्रगतिशील गठबन्धनले आगामी निर्वाचनपश्चात् बहुमत ल्याएर बन्ने सरकारले ५ वर्षमै मुलुकको कायापलट गर्ने उनले बताए ।
गठबन्धनका ९ दलको साझा उम्मेद्वारका रुपमा गोरखा १ बाट समानुपातिक उम्मेद्वारको सूचीमा परेका ढकालले स्थिर तथा बलियो सरकारका लागि एकपटक वाम गठबन्धनका उम्मेद्वारहरूलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गरे । गोरखाका घाटवेशी, बुङकोट, वालाङ, दराइगाउँ, असाङ लगायतका ठाउँमा एमाले र माओवादी केन्द्रका जिल्लास्तरीय नेतासहित पुगेका ढकालले वाम प्रगतिशील गठबन्धनले जिते बुढीगण्डकी जलविद्युत आयोजना पनि छिट्टै बन्ने बताए ।
सिंगो देश यतिखेर वाम प्रगतिशील गठबन्धनलाई जिताउन एकजुट भएको भन्दै अध्यक्ष ढकालले निर्वाचनपश्चात् मुलुकमा राजनैतिक स्थिरता र सुशासनको प्रत्याभूति भई देश आर्थिक समृद्धिको बाटोमा जाने बताए । नेपालमा अब पश्चगामी यथास्थितिवादी तथा अतिवादी सोच र चिन्तन निरर्थक भइसकेको भन्दै संविधानले परिकल्पना गरेको समाज निर्माण गर्नका लागि पनि वाम प्रगतिशील गठबन्धनले जित्नुपर्ने उनको तर्क थियो ।
चुनावी सभामा एमालेका गोरखा कमिटी सदस्य साधुराम थापा, माओवादी केन्द्रका नेता नारायण श्रेष्ठ, परिवार दलका केन्द्रीय सदस्य प्रकाशबाबु थापा लगायत चुनावी अभियन्ताहरू उपस्थित थिए ।