परिवर्तित समयका प्राथमिकतामा केन्द्रित हुन आग्रह

प्रकासित मिति: ११ कार्तिक २०७३, बिहीबार १६:०६

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको प्रतिष्ठा र राष्ट्रिय स्वार्थलाई सर्वोपरि महत्व दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापना गर्ने कार्यमा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानले मुलुकै प्रतिष्ठा वृद्धि भएको बताउनुभएको छ ।

सोह्रौँ सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी बलले आज आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति सुरक्षा, विपद् व्यवस्थापन र सीमा सुरक्षा गर्ने कार्यमा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले गत वर्ष आएको भूकम्पपछिको खोज, उद्धार र राहत वितरणमा अन्य सुरक्षा निकायसँगको समन्वयमा सशस्त्र प्रहरीले देखाएको व्यावसायिक कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा अझ उच्चस्तरको कार्यसम्पादनको अपेक्षा गर्नुभयो ।

सो अवसरमा उहाँले प्रहरी बलमा रही राष्ट्र र जनताको सेवामा कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने राष्ट्रसेवकप्रति श्रद्धासुमन अर्पण गर्दै भन्नुभयो, “म सशस्त्र प्रहरी बलका सबै दर्जालाई परिवर्तित समयका प्राथमिकता, माग र आवश्यकताअनुरुप राष्ट्र र जनताका हितमा केन्द्रित भई कार्यसम्पादन गर्नेतर्फ अग्रसर हुन विशेष आग्रह गर्न चाहन्छु ।”

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारको प्राथमिकतामा रहेका तीन वटै निर्वाचन गराउने कार्यमा समेत सशस्त्र प्रहरीको महत्पूर्ण भूमिका रहने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले मुलुकमा आउन सक्ने जस्तोसुकै सुरक्षात्मक चुनौतीप्रति परिचालित रहन सशस्त्र प्रहरी हरदम तयारी अवस्थामा रहेको बताउनुभयो । सो अवसरमा यस वर्षको उत्कृष्ट गण हुन सफल काठमाडौँको सशस्त्र प्रहरी बल नीलबराही र उत्कृष्ट सीमा सुरक्षा कार्यालय झापालाई पुरस्कृत गरिएको थियो भने पूर्वसशस्त्र प्रहरी महानिरीक्षक किशोरकुमार लामालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

Bhansar Bivag
Argakhachi Cement