३ मंसिर, पोखरा । नेपाल परिवार दलको ४ नं. प्रदेशको प्रदेशस्तरीय चुनाव प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नोपाल परिवार दलको आह्वान, सूर्यमा मतदान भन्ने नारासहित आइतबार सम्पन्न कार्यक्रममा दलका केन्द्रीयीस्तरका नेता एवं प्रदेशस्तरीय कार्यकर्ताहरू उपस्थित थिए ।
कार्यक्रमको उद्घाटन पछि दलका अध्यक्ष एवं प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेद्वार एकनाथ ढकालले कार्यक्रमलाई सम्बोधन गरे । उनले आत्मसम्मान र इमानदारिता वामपन्थी दलहरुमा देखिएकोले नेकपा एमाले लगायत वामपन्थी गठबन्धनसँगै चुनावी तालमेल गरेको बताए । एमालेले राष्ट्रिय पार्टीको अस्तित्व स्वीकार गरेर परिवार दललाई उचित स्थान दिएकाले आफूहरु सो पार्टीको चुनाव चिन्ह लिएर तालमेलमा गएको उनले बताए ।
देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि आफूहरू पहिलेदेखि नै एकताको पक्षमा रहेको भन्दै अध्यक्ष ढकालले आफूहरूको सहकार्य समृद्धि, स्थिरता, राष्ट्रियता, संविधान कार्यान्वयन र सबल लोकतन्त्रका लागि भएको प्रष्ट पारे । चुनावमा तालमेल गरे पनि संसदबाहिर परिवार दल आफ्नो स्वतन्त्र हैसियतमा रहने उनले प्रशिक्षणमा सहभागी नेता तथा कार्यकर्तासामु प्रष्ट पारेका हुन् ।
यसलाई चुनावी तालमेल मात्र ठान्न आग्रह गर्दै ढकालले भने, ‘यो पार्टी एकीकरण होइन केवल गठबन्धन मात्र हो ।’ एमालेले आफूलाई समानुपातिक तर्फ सम्मानपूर्ण स्थान दिएकोले आफूहरूलाई थप हौसला मिलेको उनको भनाइ थियो । वाम गठबन्धनको संयुक्त चुनावी प्रचार कार्यक्रमको सुरुआतमै परिवार दललाई पनि महत्वपूर्ण स्थान दिएकोबाट आफूहरु थप उत्साहित भएको उनले बताए ।
‘गठबन्धनले बहुमत ल्याएमा देशले स्थिरता विकास पाउँछ भने हामीले जिते पनि नजिते पनि विचलित हुनु हुँदैन,’ अध्यक्ष ढकालले प्रशिक्षणमा भने । परिवार दलले कुनै पनि दलको विरोध नगर्ने बरु अभिभावकीय भूमिका निर्वाह गर्न पछि नपर्ने उनको भनाइ थियो । परिवार दलको पहिचान बलियो बनाउन यसको नैतिक मूल्य र मान्यताको पक्षमा जहिले पनि लागिपर्ने उनले बताए ।
प्रदेश नं. ४ का संयोजक प्रकाशबाबु थापाको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा रामचन्द्र देवकोटाले स्वागत मन्तव्य राखेका थिए । दलकी केन्द्रीय समिति सदस्य तथा पर्वत जिल्ला अध्यक्ष समिक्षा शर्माले अपील वाचन गरेकी थिइन् ।
यसैबीच, लोकतान्त्रिक गठबन्धन परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरू वाम गठबन्धनलाई समर्थन गर्दै नेपाल परिवार दलमा प्रवेश गरेका छन् । परिवार दलको प्रशिक्षण कार्यक्रमै पार्टी प्रवेश गरेका उनीहरूलाई दलका अध्यक्ष एकनाथ ढकालले पार्टी सदस्यता प्रदान गर्दै फूलमालाले स्वागत गरे । चुनावको मुखैमा लोकतान्त्रिक गठबन्धन छोडेर सरस्वती हमालको नेतृत्वमा ३ दर्जनभन्दा बढी सदस्यहरु प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेहरूमा अन्जली मल्ल, दिलकुमारी शाही, सरिता शाही, हिमकुमारी मल्ल, ओम सुनार लगायत रहेका छन् । उनीहरूले कास्कीका ४६ हजार सुकुम्बासीका समस्या, बाटोघाटो, खानीपानी लगायतका समस्याको समाधान गर्न अध्यक्ष ढकाललाई आग्रह गरेका थिए ।