समाचार 

परिवार नै राष्ट्रको सर्वश्रेष्ठ सम्पदा

परिवार नै राष्ट्रको सर्वश्रेष्ठ सम्पदा

काठमाण्डौं, माघ १४ विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालले न्यूज २४ टेलिभिजन मार्फत आदर्श परिवार सेवाको प्रशारण शुरु गरेको छ । हरेक अंग्रेजी महिनाको अन्तिम शनिवार प्रशारण हुने उक्त सेवा बिहान ११ बजेदेखि मध्यान्ह १२ बजे सम्म प्रशारण हुँदै आइरहेको कुरा विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपालका उपाध्यक्ष प्रकाशबाबु थापाले बताए ।

विश्वको सबै भन्दा महत्वपूर्ण धरोहर र सम्पदा परिवार नै हो । अहिले विश्व विश्वव्यापीकरणको युगमा प्रवेश गरेसँगै संसार साँघुरो गाउँमा परिणत भएको छ भने मानवीय हृदय सङ्कुचित र सानो हुँदा मानवीय सम्बन्ध कमजोर बन्न पुगेको छ ।

संसारको यो बिग्रँदो अवस्थालार्इ मध्यनजर गर्दै विश्वव्यापी शान्तिकामी आध्यात्मिक अभियन्ता स्वामी डा. सन म्योङ्ग मुनले सन् १९९४ मैं एकीकृत परिवार संघको स्थापना गर्दै परिवारमा केन्द्रित विश्वव्यापी युगको घोषणा समेत गर्नुभएको हो । परिवार, जहाँ मानवको जन्म हुन्छ र उसले संस्कार, प्रेम, अनुशासन, सहिष्णुता, त्याग जस्ता कुराहरू पनि सिक्छ । त्यसैले, विगत ८ बर्षदेखि नेपाल बस्दै आउनुभएका अमेरिकी विद्वान पत्रकार डा. रोबर्ट एस्. किट्टेलको भनाइ पनि छ,  ‛नेपालको तीन पुस्ते पारिवारिक धरोहलार्इ नेपालको प्रथम सम्पदाको रुपमा जगेर्ना गर्नु पर्दछ ।’

गत मंशिर २९ गते पारिवारिक सेवाको उद्घाटन गर्दै नेपाल सरकारका पूर्वमन्त्री एवं  सांसद एकनाथ ढकालले नेपालको पारिवारिक मूल्यमान्यता र आदर्श शिक्षालार्इ विश्वव्यापी स्तरमा पुर्याउनु आजको आवश्यकता भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‛राष्ट्र निर्माणको शुरुवात घरघरबाट हुने भएकाले घरघरमा वैज्ञानिक मूल्य मान्यताको व्यवहारिक अभ्यास बिना आदर्श राष्ट्र निर्माण हुन सक्दैन ।’

जब पश्चिमी विकसित समाजमा १९५० को दशकबाट हिप्पीर स्वच्छन्द यौनको क्रान्ति नामक काउन्टर क्रान्ति शुरु भयो, त्यसको जगमा पारिवारिक संस्कार र परम्परा भताभुङ्ग बन्न पुग्यो । तसर्थ पश्चिमा विद्वानहरूले एशियाली र त्यसमा पनि नेपालको तीन पुस्ते पारिवारिक धरोहरू प्रति इर्ष्या नै गर्ने गरेको पाइन्छ । यसलार्इ जगेर्ना गर्नको लागि चानचुने प्रयाशले पक्कै सम्भव हुँदैन । यसका लागि उपयुक्त, समयसापेक्ष र वैज्ञानिक मूल्य-मान्यताको शिक्षा र दर्शनका साथसाथै पारिवारिक संस्कारमा बढोत्तरी ल्याउनु आवश्यक छ । तसर्थ, यही पारिवारिक संस्कारको स्थायित्व र यसको जगेर्नाका लागि समेत उपयोगी हुने वैवाहिक प्रतिबद्धता कार्यक्रमका साथसाथै बाबुआमाका लागि पनि यसको महत्वका बारेमा उजागर गर्ने ध्येयले सम्पूर्ण नेपालीहरूमाझ एकीकृत परिवार संघको दूरशिक्षा कार्यक्रम अन्तर्गत इलेक्ट्रोनिक मिडिया मार्फत यो एप्रोचको थालनी गरिएको कुरा संस्थाका अध्यक्ष सन्तोषकुमार पौडेल जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‟विद्यालय शिक्षामा मात्र भर पर्नाले बालबालिकामा मूल्यमान्यता, आदर्श र संस्कारिक शिक्षाको अभाव खड्किको छ । यसलार्इ समायोजन र सन्तुलित बनाउनका लागि अन्य शिक्षाका सहयोगी भनेका घरपरिवार र  समाज हुन सक्छन् । किनकि सन्तुलित शिक्षामा हामीले शिक्षाका यी पक्षलार्इ पनि इन्कार गर्न मिल्दैन ।”

सामान्य घर परिवारको मात्र होइन कि समाज, राष्ट्र र विश्वको सभ्यताको विकासका लागि पनि बहुआयामिक शिक्षाको आवश्यकता छ भन्नुहुन्छ अर्का सामाजिक अभियन्ता एवं यूपीएफ् का महासचिव विनोद डाँगी । उहाँको पनि जोड यसैमा छ कि, व्यक्ति व्यक्ति मिलेर परिवार, परिवार परिवार मिलेर समाज, समाज समाज मिलेर राष्ट्र र राष्ट्रहरू मिलेर विश्वको संरचना हुन्छ ।

तसर्थ शान्ति, सभ्यता, एकता, भातृत्व जस्ता कुराहरूका लागि पूर्वाधार भनेका पारिवारिक संस्कार, आदर्श र सबैसँग राखिने पारिवारिक सम्बन्ध नै हो ।

यससँगै, विभिन्न विविधताले भरिपूर्ण नेपाल जस्तो देशमा एकता भएन, अरुको सहअस्तित्वलार्इ स्वीकार गरिएन, सबै नेपालीहरूमा एकअर्का प्रति श्रद्धा र सम्मान भएन भने नेपालको विकास र उत्थान सम्भव नहुने भएकाले सबैलार्इ परिवारको रुपमा एउटै सूत्रमा गाँस्नका लागि यो कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा पनि संस्थाले गरेको छ ।  मेरो गोरुको बाह्रै टक्का गरेर कसैको हित नहुने भएकाले सबैमा वीन-वीन अर्थात् सबैले जित्ने धारणा र प्रयाश आवश्यक छ। त्यसले कसैको पनि कुभलो वा रिस राग र खराब मानसिकता नराखी अगाडि बढ्न र सामाजिक अभियानमा सहभागि हुनका लागि एकीकृत परिवार संघ नेपालले सबै देशवासीहरूमा आह्वान पनि गरेको छ ।

 

Related posts