फलेवास पर्वत, २४ मंसिर पर्वतबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् ।
आज बिहान सम्पन्न मत गणनाबाट एमालेका अध्यक्ष पदम गिरी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
गिरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मत अन्तरले पराजित गर्दै निर्वाचत हुनुभएको हो ।
निर्वाचित गिरीले ३९ हजार २७५ मत प्राप्त गर्नुभएको छ भने पराजित जोशीले २६ हजार ८१९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, प्रदेशसभा सदस्यमा क्षेत्र १ (क) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य नेत्र अधिकारीले नेपाली कांग्रेसका नवराज गुरुङलाई चार हजार ८२३ मतान्तरले पराजित गर्नुभएको हो ।
निर्वाचित अधिकारीले २१ हजार ५०८ मत प्राप्त गर्नुभएको छ भने पराजित हुन पुगेका नेपाली काँग्रेसका गुरुङले १६ हजार ६८५ मत प्राप्त गर्नुभयो ।
यसैगरी, प्रदेशसभा क्षेत्र नं (ख) मा एमालेका प्रदेश कमिटी सदस्य विकास लम्सालले कांग्रेसका राजेन्द्र तिवारीलाई दुई हजार १६६ मत अन्तरले पराजित गर्नुभएको छ ।
लम्सालले १५ हजार ४३४ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी तिवारीले १३ हजार ३५२ मत प्राप्त गर्नुभएको छ ।