पहिरोले ताप्लेजुङ र भोजपुरमा ५ को मृत्यु एक बेपत्ता

प्रकासित मिति: १८ भाद्र २०७३, शनिबार १६:१८

काठमाडौं । भीषण बर्षापछि गएको पहिरोले पुरिएर ताप्लेजुङ र भोजपुरमा गरी ५ जनाको मृत्यु भएको छ । शुक्रबार रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा उनीहरुको मृत्यु भएको हो । पहिरोले पुरिएर भोजपुरमा २ र ताप्लेजुङमा ३ जनाको मृत्यु भएको हो ।
ताप्लेजुङ नगरपालिका–२ मा एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् भने अर्की एक महिला घाइते भएकी छन् । घरभित्रै पुरिएर मृत्यु हुनेमा टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललित छन् । उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो । राति नै पहिरोले घर भत्किएको स्थानीयवासीले थाहा पाए पनि रातको समयमा भीषण वर्षाकै कारण उद्धार हुन सकेको थिएन । उनीहरुको शव शनिवार बिहान सुरक्षाकर्मीले निकालेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
त्यस्तै ताप्लेजुङ नगरपालिकाको वडा नम्वर –८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । नाम नखुलेकी माइली सुब्बा भनेर चिनिने महिला बेपत्ता भएकी हुन् । उनीसँगै बस्दै आएकी कान्छी सुब्बा भनेर चिनिने अर्की महिला घाइते भएकी छन् । पहिरोले त्यहाँका दर्जनौँ घरमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ ।
यता शुक्रबार राति परेको अविरल वर्षापछि गएको पहिरोका कारण भोजपुर जिल्लाको कुलुङ गाविस–६ जिमिगाउँका ५८ वर्षीय भरत राई र उनकी ५४ वर्षीया श्रीमती राममनी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुलुङ गाविसको वडा नम्वर ९ मा रहेको जगतमान राईको घर पहिरोले पुरिएपछि सोही घरमा काम गर्ने राई दम्पतीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय भोजपुरले दिएको जानकारी अनुसार, पहिरोले क्षति पु¥याएको सूचनाका आधारमा कुलुङबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा पुरिएको घर उत्खनन गर्दा राई दम्पती शनिबार मृत फेला परेका हुन् । पहिरोमा उनीहरुले पालेको दुईवटा गाई, दुईवटा बाछा र चारवटा भेडा समेत मरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement