बनेपा, १४ पुस प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सावधानी, संवेदनशील र होसियारीपूर्वक जनतालाई न्याय दिन न्यायिक समितिलाई आग्रह गर्नुभएको छ ।
आज धुलिखेलमा सर्वोच्च अदालतले आयोजना गरेको ‘न्यायमा सहज पहुँचका लागि न्यायिक समितिको भूमिका’ विषयक दुईदिने अन्तक्र्रियामा उहाँले आर्थिक, सामाजिक विभेदमा परेका, रुपान्तरण हुन नसकेका, पिछडिएका र दबिएका जनतालाई न्याय दिनुपर्छ भन्नुभयो ।
प्रधानन्यायाधीश पराजुलीले पार्टीबाट निर्वाचित भए पनि निष्पक्ष भएर न्याय प्रदान गर्न जनप्रतिनिधिलाई अनुरोध गर्दै कानून मान्ने संस्कारको विकास हुनुपर्ने बताउनुभयो । “यदि तपाईले न्याय दिने क्रममा निष्पक्षताका लागि मानव मष्तिस्कको प्रयोग गर्नुभएन भने यो व्यवस्था अन्त्य भएर जान्छ”– उहाँले निर्वाचित जनप्रतिनिधिलाई भन्नुभयो ।
प्रधानन्यायाधीश पराजुलीले जनताद्वारा चुनिएका जनप्रतिनिधि नै निर्वाचित न्यायाधीश भएका बताउँदै न्यायिक समितिलाई प्रदान गरिएको अधिकार न्यायको जग बसाल्ने आधारशीला भएको बताउनुभयो । “अब निर्वाचित जनप्रतिनिधिले न्यायाधीश हुनका लागि आफूले निष्पक्ष काम गरेर प्रमाणित गर्नुपर्छ”– उहाँले भन्नुभयो ।
महान्यायाधिवक्ता वसन्तराम भण्डारीले जनप्रतिनिधिबाटै न्यायिक काम छिटोछरितो र यथार्थ हुनुपर्नेमा जोड दिँदै मेलमिलापको विषय पनि प्राथमिकतामा परेको बताउनुभयो । पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले कानूनी ज्ञानको पूर्वाधार विकास हुनुपर्ने उल्लेख गर्दै अदालतले अपनाएको कार्यविधि न्यायिक समितिमा पनि लागू गर्नुपर्ने बताउनुभयो ।
काभे्रपलाञ्चोक, सिन्धुली, दोलखा, रामेछाप र सिन्धुपाल्चोकको स्थानीय न्यायिक समितिका पदाधिकारी अन्तक्र्रियामा सहभागी छन् ।