काठमाण्डौं । संसदीय शान्ति परिषद् (पीपीसी) नेपालका सदस्य तथा भिएस निकेतनका प्रिन्सिपल डा. बाबुराम पोखरेलको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा डा. पोखरेलको आइतबार बिहान निधन भएको हो ।
शिक्षाविद् डा. पोखरेलको असामयिक निधनमा दुःख व्यक्त गर्दै नेपाल परिवार दलले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । दलका प्रवक्ता सन्तोष कुमार पौडेलले सामाजिक सञ्जालमार्फत् दिवंगत पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
‘शान्तिदूत, पुर्वसांसद, शिक्षाविद् तथा आदरणीय सर डा. बाबुराम पोखरेलको आइतबार विहान भएको असामयिक निधनमा हामी मर्माहत छौं,’ पौडलले लेखेका छन्, ‘उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु !’
त्यस्तै परिवार दलकी केन्द्रीय कोषाध्यक्ष एवं पूर्वसांसद मिलन कुमारी राजवंशीले पनि दिवंगत डा. पोखरेलको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन् । साथै उनले शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरेकी छन् ।