काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुनःनिर्माण तथा स्थानीय निकायको निर्वाचनसहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति संयुक्त राज्य अमेरिकाले सकारात्मक सहयोग र सद्भाव राखेकामा आभार प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री निशा देशाई विश्वालसँगको भेटमा उहाँले नेपालको शान्ति प्रक्रिया, संविधानसभाको चुनाव, नयाँ संविधान, भूकम्पपछिको पुनःनिर्माण, भूकम्प पीडितलाई राहत एवम् विकास निर्माणमा अमेरिकी सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गर्नुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन एवम् पुनःनिर्माणसहित विकास निर्माणका एजेन्डामा अमेरिकाको सहयोग एवम् सद्भाव रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीले अघि सारेका राष्ट्रिय एजेन्डाप्रति समर्थन जनाउँदै सहायक विदेशमन्त्री विश्वासले नेपालको प्रगति र समृद्धिप्रति अमेरिकाले नजिकबाट सहयोग गर्ने बताउनुभएको थियो । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्को पनि उपस्थिति रहेको थियो ।