काठमाडौँ, २४ पुस । व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव टेबल भएपछि सरकार र प्रमुख प्रतिपक्षी दलका नेताले समर्थन र विरोधमा आ–आफ्नो धारणा राख्नुभयो ।
प्रतिपक्षी दलको विरोध र होहल्लाका बीच संसद्मा संविधान संशोधन विधेयक प्रस्तुत गरेपछि एमालेले सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएको छ भने सत्तारुढ दलले भने असहमतिबीच सहमति खोजेर संसद् चलाइएको बताएका छन् ।
संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले आफूहरुको असहमति रहँदारहँदै सरकारले संविधान संशोधन प्रस्ताव टेबल गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “संविधान संशोधन प्रस्ताव आज पनि हामीले टेबल गर्न दिएनौँ । हाम्रो सहमतिमा टेबल भएको हैन । संसारका कुनै पनि देशमा सम्पूर्ण प्रतिपक्षी दल एकठाउँमा भएको बेलामा कुनै पनि प्रस्ताव टेबुल हुँदैन ।”
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले मुलुकलाई सधैँ बन्दक बनाएर नहुने भएकाले सबै दलको सहमतिमा नै प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दलको समेत संविधान संशोधन प्रस्तावमा सहमति जनाएको, उहाँहरुले विरोध गरे पनि प्रस्ताव अगाडि बढाउने अनौपचारिक सहमतिपछि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन अझै एक महिनाको समय बाँकी रहने भएकाले सोही अवधिमा सबै दलले पूर्ण समर्थन जनाउने उहाँको भनाइ थियो ।
संशोधन प्रस्ताव पारित गर्नका लागि नै सरकारले टेबुल गरेको हो भन्ने स्पष्ट पार्दै उहाँले छलफल गर्दै परिमार्जनसहित पारित गरिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “संविधान जारी गर्ने बेला पनि विरोधको अवस्था थियो, अहिलेको राष्ट्रिय आवश्यकता निर्वाचन भएकाले त्यसको वातावरण बनाउन आज संशोधन प्रस्ताव अघि बढेको हो । यसले अब संविधानमा सबै पक्षको भावनालाई समेट्न बल पुगेको छ ।”
नेकपा (माओवादी केन्द्र)का नेता अग्नी सापकोटाले प्रतिपक्षी दलको विरोधभित्र सहमति खोजिएको बताउनुभयो । उहाँले संसद्को एउटा प्रक्रिया सुरु भएकाले त्यसले निकास पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।