फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा ः उपाध्यक्ष रावल

प्रकासित मिति: ५ पुष २०७३, मंगलवार १४:२०

काठमाडौँ, ५ पुस । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अहिले मुलुकमा संविधान संशोधनको औचित्य नरहेकाले सरकारले त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

संविधान संशोधनको प्रस्तावमा असहमति जनाउँदै आएका विभिन्न दल निकट युवा तथा विद्यार्थीको संयुक्त मोर्चाले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्र र जनताको हितमा नरहेको प्रस्ताव समयमै सरकारले फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा औँल्याउनुभयो ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले विश्वमा अभ्यास भइरहेका विभिन्न संविधानको अध्ययन तथा मुलुकको आवश्यकताको अध्ययनपछि ल्याइएको अहिलेको संविधान उत्कृष्ट रहेको बताउँदै यो मधेसमैत्री रहेकाले संविधान संशोधनको खाँचो नरहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले मुलुकको आवश्यकता पूरा गर्न नभई विदेशीको इसारामा ल्याइएको सो प्रस्तावले मुलुकको विखण्डन गर्ने तथा जनताको एकतामा अवरोध पु¥याउने हुँदा त्यसतर्फ चनाखो भई प्रस्तावलाई अगाडि बढाउन दिन नहुने विचार व्यक्त गर्नुभयो ।

नेपाः पार्टीका नेता एवम् सांसद लक्ष्मण राजवंशीले मुलुकमा अङ्गीकृत नागरिकलाई जथाभावी अधिकार दिँदा नेपाली मूलका नागरिक अल्पमतमा पर्ने खतरा औँल्याउँदै अङ्गीकृतलाई देशको नेतृत्व दिनका लागि ल्याइएको प्रस्तावले देश र जनताको हित नगर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति प्रतिपक्ष दल तथा मधेसी मोर्चा असहमत रहेकाले त्यसलाई अविलम्ब फिर्ता गरी दलको सहमतिबाट नयाँ विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामा, युवा सङ्घका अध्यक्ष राजीव पहारी लगायतले सरकारले प्रस्ताव फिर्ता नलिएमा सशक्त आन्दोलन जारी राख्ने जानकारी गराउनुभयो ।

नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नेमकिपा निकट युवा तथा विद्यार्थी सङ्गठन लगायतले संविधान संशोधन प्रस्तावको प्रक्रियामा असहमत भई विभिन्न चरणका आन्दोलन गर्दै आएका छन्

Bhansar Bivag
Argakhachi Cement