फिलिपिन्समा सुरु भयो शान्ति प्रक्रिया, विद्रोहीका दुई वरिष्ठ नेता जेलमुक्त

प्रकासित मिति: ४ भाद्र २०७३, शनिबार ०१:१३

  • मनिला,  फिलिपिन्सको सरकार र यहाँको कम्युनिष्ट विद्रोही समूह, मोरो स्लामिक लिबरेसन फ्रन्टबीच शान्ति प्रक्रिया सुरु हुन लागेको बताइएका बेला दुई जना वरिष्ठ कम्युनिष्ट विद्रोही नेतालाई जेलमुक्त गरिएको समाचार छ ।शुक्रबार जेलमुक्त भएका ती दुई जना नेता फिलिपिन्सको विद्रोही कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हुन् । उनीहरूलाई सरकारी जेलबाट शुक्रबार नै मुक्त गरिएको सरकारी अधिकारीले जनाएका छन् ।

    उनीहरूको रिहाईको माग यहाँका विद्रोहीले राखेका थिए । वार्तामा बस्नका लागि उनीहरू आवश्यक भएको भन्दै रिहाइको माग विद्रोहीले गरेपछि उनलाई रिहा गरिएको सरकारी पक्षको भनाई छ ।

    रिहाइपछि विद्रोही कम्युनिष्ट पार्टीले उक्त निर्णयको स्वागत गरेको छ । साथै सो समूहले अब जेलमुक्त भएका नेताको सम्लग्नतामा नै विद्रोही पक्षको वार्ता समिति बनाइने पनि जानकारी दिएको छ ।

    उक्त समूहबीच यसअघि भएको शान्ति सम्झौताको कार्यान्वयनका लागि हालै एक सम्झौता भएको थियो । गएको शनिबारबाट नै सो सम्झौता लागू भएको बताइएको छ ।

    शान्ति स्थापनाका लागि यसअघि भएको सहमतिबमोजिम नै सो सम्झौता भएको बताइएको थियो । साथै शुक्रबारै प्राप्त अर्काे एक समाचारअनुसार अब सरकार र विद्रोही पक्षबीच अर्काे हप्ता शान्तिवार्ता सुरु हुने भएको छ ।

    मलेसियाको राजधानी क्वालालम्पुरमा भएको द्विपक्षीय सहमतिबमोजिम शान्ति सम्झौता लागू भइसकेको छ भने अब शान्तिवार्ता नै सुरु हुनेछ– एक सरकारी अधिकारीले बताए ।

    सो शान्ति सम्झौता करिब दुई वर्ष अघि भएको थियो । तर पनि यसको कार्यान्वयन हुन सकिरहेको थिएन ।

    राष्ट्रपतिका शान्तिसम्बन्धी सल्लाहकार जियुज दुरेजाले अर्काे हप्ता वार्ता सुरु हुने जानकारी दिनुभएको हो । उहाँले शान्ति सम्झौताको कार्यान्वयन गरी शान्ति वार्ता अघि बढाइने गरी भएको सहमति फिलिपिन्सका लागि एक प्रमुख उपलब्धि भएको जानकरी दिनुभयो ।

    मलेसियाको सहयोग र समन्वयमा सन् २०१४ मा उक्त विद्रोही समूह र सरकारबीच शान्ति वार्ता भएको थियो तर त्यसले सफलता भने प्राप्त गर्न सकेको थिएन ।

    त्यस समयमा भएको सो सहमतिको कार्यान्वयनका लागि विद्रोही समूहबाटै अनाकानी भएको भनिएकोमा यस पटकको पहल अत्यन्तै सकारात्मक रहेको विद्रोहीले नै जनाएका छन् ।

    शनिबारबाट सो सहमति भएपछि भने शान्ति वार्ताको सफलताको अपेक्षा गरिएको छ । शुक्रबार उक्त कम्युनिष्ट पार्टीका दुई जना वरिष्ठ नेतालाई रिहा गरिएपछि वातावरण थप शान्तिपूर्ण हुने अपेक्षा थपिएको छ ।

    उक्त समूहका अध्यक्ष मुराद इब्राहिमले यसअघिको शान्ति सम्झौताको पालना गरेर अघि बढ्ने जानकारी दिए । उनले जनताको शान्तिको इच्छालाई मर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

    सरकारी वार्ता टोली र विद्रोहीपक्षबीच अर्काे हप्ता नर्वेको राजधानी ओस्लोमा वार्ता सुरु हुने जानकारी यसअघि नै सार्वजनिक गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement