बालुवा–गिटी मूल्य निर्धारण गर्न समिति

प्रकासित मिति: १९ श्रावण २०७४, बिहीबार १५:२४

त्रिशूली(नुवाकोट), १९ साउन । नदीजन्य निर्माण सामग्रीको मूल्य अत्याधिक भएको भन्ने गुनासो आएपछि जिल्ला समन्वय समितिमा सरोकार भएकाहरुको आज भएको बैठकले नदीजन्य निर्माण सामग्रीको मूल्य निर्धारणका लागि समिति बनाइएको छ ।
बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनालको संयोजकत्वमा समिति निर्माण गरिएको हो । एक हप्ताभित्र प्रतिवेदन तयार गरी प्रस्तावित मूल्य सरोकार भएका निकायको बैठकमा पेश गर्ने गरी समिति गठन गरिएको हो ।
बैठकमा प्रजिअ जगदीशराज बरालले जिल्लाको आवश्यकतानुसार उत्पादित नदीजन्य सामग्री जिल्लामा नै खपत गर्नका लागि व्यवसायीलाई आग्रह गर्नुभयो । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जिल्लामा रहेका क्रसर व्यवसायीले अवैध रुपमा नदी उत्खनन् गरेको बताउनु भयो ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अवैध तबरले रातको समयमा नदीजन्य सामग्रीको उत्खनन रोकिनुपर्ने बताउनुभयो । बेलकोटका प्रमुख खनालले नदीजन्य निर्माण सामग्रीको मूल्य निर्धारण गरी भूकम्प प्रभावितलाई सहज रुपले उपलब्ध गराउनुपर्ने बताउनुभयो । किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र तामाङले क्रसर र बालुवा व्यवसायीलाई जिल्लास्थित नियामक निकायले नियन्त्रणमा लिएको जस्तो गरी भित्री रुपमा रकमको चलखेल गरेको आरोप लगाउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement