काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्यशक्तिको अनुचित प्रभावले राष्ट्रलाई कमजोर बनाएको र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको बताएका छन् । मुलुकमा अस्थायी सत्ता हाबी हुँदा राष्ट्र र राष्ट्रियता संकटमा परेको उनको भनाइ छ ।
संघीयता र संविधान संशोधनका विषयमा राजनीतिक दलबीच ध्रुवीकरण बढिरहेका वेला पूर्वराजा ज्ञानेन्द्रले राष्ट्र र राष्ट्रियता संकटमा परेको बताएका हुन् । पूर्वराजाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय एकताको मर्ममाथि प्रहार भइरहेको बताएका हुन् । ‘मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको छ, आपसी मित्रता र सामाजिक एकता मेटिँदै छ,’ ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तराई, पहाड र हिमाल बीचको सदियौं लामो एकता तोड्न सक्दो प्रयत्न भइरहेको छ ।’
‘क्रान्तिकारी, परिर्वतनकारी, बलिदानीजस्ता शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर बनाउने काम भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अशोभनीय मात्र नभई दिनदिनै असह्य पनि बन्दै गएको छ ।’ निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रस्त हुँदा राष्ट्रका आधारहरू बलियो हुन सक्दैनन् ।’ इतिहासलाई कलंकित बनाएर निहित स्वार्थ पूरा गर्न गरिएका कामले मुलुकलाई कुनै हालतमा अघि बढाउन नसक्ने उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्तिमा ‘माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति दिन सक्दैन’ भनेका छन् ।
नेपालको स्थायी सत्ता राष्ट्र र राष्ट्रवासीबाहेक अरू हुनै नसक्ने भन्दै उनले जारी गरेको विज्ञप्तिमा ‘दुर्भाग्यवश आजको सन्दर्भमा बाह्यशक्तिको अनुचित प्रभावमा अस्थायी सत्तालाई हाबी गराइएको छ भने स्थायी सत्तालाई क्रमशः धमिल्याउँदै लगिएको’ उल्लेख छ ।
अझै पनि नेपालीको मनमा देशभक्तिको भावना ढलेको छैन भन्दै उनले राष्ट्र जोगाउन प्रखर रूपले जाग्ने वेला आएको बताएका छन् । नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गर्न अपिल गर्दै ज्ञानेन्द्रले समय भड्किसकेपछि पश्चात्तापले कुनै अर्थ नराख्ने बताएका छन् ।