भक्तपुर, २३ भदौ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दूरदृष्टिका साथ लक्ष्य लिएर आफ्नो कला संस्कृति बचाउनेतर्फ ध्यान जानुपर्ने बताउनुभएको छ ।
महाकवि सिद्धिदास महाजूको १५० औँ जन्मजयन्तीका अवसरमा सिद्धिदास प्रतिष्ठान भक्तपुरद्वारा आयोजित गोष्ठीमा जोशीले मुलुकका भाषा, कला संस्कृति र धर्मको संरक्षणका लागि जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रा राजनलाल जोशीले ‘सिद्धिदासको साहित्यमा प्रगतिशील पक्ष’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै महाजू बहुविवाहविरुद्ध त्यतिखेरदेखिनै कडा रुपमा प्रस्तुत हुने गरेको, छोराछोरीलाई सम्मान शिक्षादीक्षा दिनुपर्नेमा जोड दिने गरेको र कोही पनि व्यक्ति अन्धविश्वासमा रहन नहुने र प्रत्येक व्यक्ति कर्मशील हुनुपर्ने बताउनुभएको उल्लेख गर्नुभयो ।
अधिकारकर्मी मल्ल के सुन्दरले महाकवि सिद्धिदासले आफ्नो साहित्यआर्फत राजनीतिक, भाषिक र सांस्कृतिक क्षेत्रमा गरेको योगदानबारे बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडाले राणाहरुको अत्याचारविरुद्ध साहित्यमार्फत जनतालाई सचेत गराउने गरेको, “ भाषा म्वासा जाति म्वाइ’ (भाषा बाँचे मात्र जाति रहन्छ) भनी सचेत गराएको बताउनुभयो ।
सो अवसरमा तुयुबहादुर महर्जनद्वारा लिखित ‘सिद्धिदास कोष’ नामक पुस्तकको विमोचन गरिनाका साथै प्रतिष्ठान स्थापनाका लागि सहयोग पु¥याउने कैलाशभक्त प्रधानाङ्ग, प्राज्ञ ध्रुव मधिकर्मी, कलाकार रामशेखर नकर्मीका छोरालगायतलाई सम्मान गरिएको थियो ।