‘भाषा हाम्रै लाइनमा आउनेमा अझै विश्वस्त छु’

– प्राज्ञ मुकुन्दशरण उपाध्याय
(नेपाली भाषा बचाऊँ अभियानका अभियन्ता)

त्रिभुवन विश्वविद्यालयले २०३४ सालमा नेपाली हिज्जेको स्वरूप बदल्ने प्रलयंकारी नीति बनाएको थियो, त्यसपछि र २०३६ सालमा त्रिविबाट अब उप्रान्त नेपाली यसरी पढाउनू भन्ने फरमान शैलीको शिक्षणनिर्देशिका नामक पुस्तिका क्याम्पसहरूमा वितरित भए पछि नेपाली भाषाको लेखाई छपाईमा दुई धार बनेका थिए– (१) त्रिवि धार र (२) फरक धार । फरक धारको नेतृत्व त्रिविकै पोखरास्थित पृथ्वीनारायण क्याम्पसका नेपाली प्राध्यापक मुकुन्दशरण उपाध्यायले गरेका थिए । उनको फरक धार नाम मात्रको थियो । यस धारमा कवि मुकुन्दशरण उपाध्याय मात्र एक्ला पात्र थिए, अरू कोही साथी थिएन । नेपाली पढाइरहेका कतिपय आफन्तहरूलाई उनले आफनो कुरा भनेर फरकधार लाई सगाउन अनुरोध गरे पनि कसैले उनलाई साथ दिने आँट गर्दैनथे । भाषिक आन्दोलनमा पृथ्वीनारायण क्याम्पसभित्रै पनि उनी एक्ला थिए । उनको समर्थनमा देखिएर बोल्ने तेहाँ पनि कसैमा आँट आएन, उनी भन्छन् समर्थकहरू थिए तर समर्थनमा बोल्ने आँट उनीहरूमा थिएन । राजाको नेतृत्वमा निर्दलीय पंचायत व्यवस्था चलिरहेको थियो । पढे लेखेका मानिसहरू भित्रभित्रै पञ्चायत र हुकुमी शैलीको राजाको नेतृत्वको विपक्षमा सङ्गठित भइरहेका थिए तर मुकुन्दशरण उपाध्याय राजनीतिबाट एकदमै पृथक थिए । नेपाली भाषाको शुद्धताका निम्ति अडिग भएर लागेका प्राज्ञ मुकुन्दशरण उपाध्याय, जो नेपाली भाषा बचाउने महायज्ञमा ३७ वर्षको युवा उमेरदेखि ७७ वर्षको वृद्धावस्थासम्म पनि निरन्तर क्रियाशील छन् ।
तर पछिल्लो समय भाषामा र भाषाविद् तथा प्रयोगकर्तामाझ धेरै ठूलो लहर सिर्जना भएको छ । अहिले धेरैको ध्यान मुकुन्दशरणको फरक विचारतिर आकृष्ट भएको छ । नेपाली भाषामा देखिएको विवादसँगै मुकुन्दशरणले लिएको भाषाको अडानको पक्षमै यतिबेला छलफलहरू हँुदैछन् राष्ट्रभरि र विदेशमा पनि । प्रस्तुत छ– २०२१ सालमा ‘प्राकृत पोखरा’ नामक काव्यकृतिका लागि मदन पुरस्कार प्राप्त गरेका उपाध्यायसँग उहाँको नेपाली भाषा आन्दोलनका बारेमा विष्णु निश्चलले द युनिभर्सल टाइम्सका लागि गरेको कुराकानीः
अहिले नेपाली भाषामा व्यापक विवाद देखिएको छ । प्रज्ञा प्रतिष्ठानले छानबिन समिति समेत गठन गरेर समाधान खोजेको अवस्था पनि आएको छ, यहाँलाई कस्तो लागिरहेको छ ?
मलाई अब त समाधानको बाटो पहिलिन्छ कि भन्नेमा केही आशा पलाएको छ । प्रज्ञाको यस कदमलाई मैले सामयिक र सद्भावयुक्त ठानेको छु ।
यहाँले एक्लो बृहस्पति बनेर यति लामो लडाइँ लड्नुभयो, मुख्य कुन कुराले चित्त नबुझेर यस्तो गर्नु परेको हो ?
मुख्य विवादको कुरा के हो भने नेपाली भाषालाई सहयोग गर्न संसारका विभिन्न भाषाबाट अनेकौं शब्दहरू आएका छन् र तिनले नेपाली भाषाको अभिव्यक्ति शैलीलाई ठूलो योगदान गरेका छन्, उपकार गरेका छन् । यसरी सहयोग गर्न आएका शब्दहरू हाम्रा निम्ति देवतासरह आदरणीय र आत्मीय पनि हुन्छन् तर तिनलाई निर्मतापूर्वक खण्डित गर्ने, अपमानित गर्ने र तिनको अभिव्यक्ति शक्तिलाई कुण्ठित तुल्याउने काम त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा शुरू गरिएको थियो, त्यस्तो कार्य भाषाका लागि अत्यन्त घातक लागेर म यसरी आन्दोलनमा होमिएको हुँ ।
प्रज्ञा प्रतिष्ठानले गठन गरेको समितिबाट समाधान निस्कला त अब ?
अहिले गठित समितिमा रहनुभएका व्यक्तिहरूको विद्वत्ता भरपर्दो छ, त्यसमा मलाई कुनै शङ्का छैन । तर जतिबेला नेपाली भाषामा अतिक्रमणको प्रयास भयो त्यतिबेला वहाँहरू त्रिविको केन्द्रमा सक्रिय रहनुभएका व्यक्तिमध्ये पर्नुहुन्छ, मेरा मित्रहरूबाट मैले पाएको जानकारी अनुसार उहाँहरू एक प्रकारले हर्ताकर्ताहरू म14543593_10209328805634516_1455547292_nध्येमै हुनुहुन्थ्यो । त्यसैले उहाँहरू नै रहेको समितिले नेपाली भाषालाई कति न्याय गर्न सक्ला भन्ने शंका भने उब्जाएको छ । भए पनि उहाँहरू विद्वान् हुनुभएको हुँदा उहाँहरूप्रति म निराश छैन ।
तपाईं २०३४ सालमा त्रिविको नीतिको प्रतिरोधमा एक्लै उभिनुभयो र निरन्तर नेपाली भाषा आन्दोलनमा सक्रिय हुनुभयो, कस्तो अनुभव रह्यो ?
२०३४ सालमा एक मात्र विश्वविद्यालय थियो त्रि.वि. । उसैले नेपाली भाषाको स्वरूपमाथि अतिक्रमण गरिदिएपछि नेपालमा भाषाको अवस्था कहाँ पुग्ला भन्ने कुराले मेरो मन छटपटिएको हो र म त्यही बेलादेखि नेपाली भाषा बचाउन भनेर यस आन्दोलमा निरन्तर लागिरहेको छु । अनुभव त मैले जहाँ जाँदा पनि कुरा सुनिदिने मान्छे पाएँ र मित्रहरू पनि थपिनुभयो तर साथ दिनेहरू पाउन तपस्या नै गर्नुप¥यो ।
तपाई त लोकप्रिय कवि पनि हुनुहुन्छ तर तपाईले त्यस्तो लोकप्रिय साहित्यिक फाँटलाई छोडेर यसरी भाषिक अभियानमा लाग्नुपर्दा हानि भएको महशुस पनि त भैरहेको होला नि ?
हो व्यक्तिगत रूपमा आफ्ना प्रशंसक र प्रेरक विद्वान्हरूसँग मतभिन्नतामा रुमल्लिनु पर्दा दुःख लागेको छ र अवश्य हानि पनि भएको छ । तर कविता कोर्ने पनि त भाषामै हो । यदि त्यही भाषा भाँडिएको छ र क्षत, विक्षत बन्दै गएको छ र उसको शुद्ध प्रयोगलाई निषिद्ध गरिएको छ भने त्यसमा कविता कोर्नुको के महत्व रहला र ? अर्को कुरा म एउटाको काव्ययात्रा विशृंखलित भएर पनि मेरा प्रयास र बलिदानले यदि मेरो भाषा शुद्ध हुन पायो भने भोलि अवश्य पनि म भन्दा राम्रा असंख्य कविहरू जन्मने छन् र हाम्रो साहित्य समृद्ध हुनेछ भन्ने विश्वासले मलाई प्रेरित गर्न छोडेन । यही सोचेर नै मैले कविताको कलम बिसाएर भाषाको कलम समातेको हुँ ।
तर यो अभियानमा तपाईं लामो समय एक्लै पर्नुभयो । त्रि.वि.का अधिकांश नेपाली भाषाविज्ञहरूले तपाईंको विरोध गरेको पनि देखियो, यात्रा त कठिन भइरह्यो नि हैन ?
हो, विज्ञ समूहमा पनि मेरो विरोध भयो, त्यो दुर्भाग्य भयो । तर त्यस बेला मैले के विश्वास लिइरहेँ भने वहाँहरू विद्वान् हुनुहुन्छ यसर्थ अवश्य पनिवहाँहरूलाई सधैँ निष्ठुर बनिरहन गाह«ो पर्न सक्छ । मेरो संघर्ष अबुझहरूसँग त थिएन नि ? यसर्थ मैले सोचिरहेँ भोलि मैले उहाँहरूकै सहयोग पाउँछु र मेरो भाषा पुनः सजग भएर अगाडि बढ्छ ।
नेपाली भाषामा २०३४ सालमा भाषिक अतिक्रमण भएको कुरा भन्दै आउनुभएको छ, खास यो–यो अतिक्रमण भयो भनेर पाठकहरूले कसरी बुझ्ने ?
अतिक्रमण कसरी हुन गयो भने हामी शहर, शहीद, शेयर, शर्बत, शिकायत, शुरू, मिशन, कमिशन, होश, जोश, तपेश, चरेश, निशान, शूरो, शु¥याइँ, दश, दशैं, दशौं, जशजस्ता अनेकौं शब्दहरूमा मोटो शकार लेख्थ्यौं, तिनैमा अर्थवहनको राम्रो क्षमता थियो एकातिर भने अर्कातिर गरीब, करीब, ठीक, बीच, तीन, तीस, फूल, भूल, दूध, ठूलो, धूलो, ढीठ, कानून, शैलून, स्कूल, मजदूर, अमीन, जमीन, अपील, वकील आदि असंख्यको दीर्घ मात्रालाई मनोमानी ढंगले मिल्काएर तिनलाई अंगभग तुल्याइयो । यसरी पुग–नपुग पच्चीसौँ हजार नेपाली शब्द अपांग बनाउने नीति पारित गरियो । यिनै कुरामा मुख्य विवाद अहिले चुलिएको हो ।
बिगारिएकै रूपलाई यहाँहरूले मञ्जूर गरिदिनुभएको भए र संविधान, ऐन, कानूनका पुस्तकमा र शब्दकोशहरूमा र पाठ्यपुस्तकहरूमा सर्वत्र यिनै रूप स्थापित गर्न सकिन्थ्यो भनेर त्रिविका विद्वान्हरू आफना तर्क दिइरहनु हुन्छ नि त ?
हो, उहाँहरू त्यसो भन्नुहुन्छ । तर यस विषयमा के बुझ्नु आवश्यक छ भने हाम्रो नेपाली भाषा मेची र महाकालीको सीमाभित्र मात्र सीमित छैन । महाकालीपारि काँगडासम्म अझ विशेष गरी देहरादूनमा लाखौँ नेपाली भाषाप्रति अगाध निष्ठा राख्ने नेपालीहरू छन् । उता मेचीपूर्व सिक्किम, सिलिगुडी, दार्जीलिङ, शिलाङ, गोहाटी र भूटान हुँदै बर्मासम्म नेपाली भाषाको साधनामा गौरव गर्ने नेपालीभाषीहरूको ठूलो संख्या छ उक्त ठाउँहरू मा त्रिविको आदेशले काम गर्दैन भन्ने हामीले बिर्सन हुँदैन । अझै सुदूर पूर्व वर्मामा लाखौं नेपालीहरू नेपाली भाषाको उपासनमा सक्रिय छन् यी सबैलाई जोड्नु पर्ने बेलामा हाम्रा विद्वानहरूले नेपाल भित्रैनेपाली भाषालाई टुक्रयाउने र अनाआवश्यक विवादमा फँसाउने गल्ती गरिदिनु भएको छ भन्ने हामीले बुझ्नुपर्छ । म त्यसै साहित्य साधनालाई त्यागेर भाषामा होमिएको हैन, निश्चल जी !
यहाँको यो भाषा आन्दोलन सफल हुने कुरामा यहाँलाई अब त विश्वास बढेको हुनुपर्छ, होइन र ?
हो, ठीक भन्नु भयो । मलाई के कुरामा विश्वास छ भने सत्य कुराको विजय नभई छोड्दैन, मेरो अभियान सत्यमा आधारित हुनाले मैले जुन बेला त्रिविको भाषिक नीतिसँग असहमति प्रकट गरेको थिएँ त्यति नै बेला पनि मेरा कुरा स्वदेशमा पनि विदेशमा पनि स्वीकार्य हुन्छन् भन्ने विश्वास मभित्र थियो । धेरै वर्षसम्म एक्लो बृहस्पति बनाइँदा त म भविष्यमा सफल भइएला नै ठानिरहेको हुन्थें भने अहिले धेरै प्रबुद्ध साथीहरू मेरै बाटोमा सक्रिय भइसक्नु भएको अवस्था छ, यसले आत्मविश्वास बढ्नु स्वाभाविकै हो ।

Related posts

Leave a Comment