भ्रष्टाचारविरुद्ध नेपालको शून्य सहनशीलता नीति

प्रकासित मिति: २२ कार्तिक २०७४, बुधबार १२:२७

काठमाडौँ, २२ कात्तिक  जुनसुकै समाजको दिगो सामाजिक आर्थिक विकासको बाधक भ्रष्टाचार नै रहेको र यो स्थायित्व र सुरक्षाका निम्ति विश्वभर प्रमुख चुनौती बनेको बताउँदै नेपालले त्यसविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।

अष्ट्रियाको राजधानी भिएनामा जारी संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको अभिसन्धिसम्बन्धी सातौँ सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको त्यस्तो नीति सुनाएको हो ।

उक्त अभिसन्धिको पक्षराष्ट्र रहेका १५५ देशका प्रतिनिधिमाझ नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले भ्रष्टाचार नियन्त्रण गर्न नेपाल सरकारले अंगिकार गरेका कानूनी नीति तथा उपायबारे जानकारी गराउनुभएको भिएनास्थित स्थायी नेपाली नियोगले आज जनाएको छ ।

यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भिएनास्थित नेपाली नियोगका वरिष्ठ अधिकारी हुनुहुन्छ । साथै सम्मेलनमा अन्तर्राष्ट्रिय संघसंगठन र गैरसरकारी संघसंगठनका प्रतिनिधि रहेका पनि उक्त नियोगले जनाएको छ ।

Bhansar Bivag
Argakhachi Cement