मतदानमा सहभागी हुन मतदातालाई निर्वाचन आयोगको आग्रह

प्रकासित मिति: ९ मंसिर २०७४, शनिबार १३:४७

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणको मतदानको तयारी पूरा भएको बताएका छन्। निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो चरणको निर्वाचनको तयारी पूरा भएको र उत्साहका साथ मतदातालाई मतदानमा सहभागि हुन अपिल गरेका छन्। ‘प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छु’, डा. यादवले भने, ‘भोलि बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनुभई मतदानमा सरिक हुन सम्पूर्ण महानुभावहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ।’ अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न मतदान अधिकृतलाई प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्देशन समेत दिएका छन्। डा. यादवले यो निर्वाचनबाट देशले समृद्धिको बाटो समात्ने आशा व्यक्त गर्दै मतदातालाई शान्ति र उत्साहपूर्वक सहभागिता जनाउन अनुरोध गरेका छन्। ‘यस निर्वाचनपछि मुलुकमा दीगो आर्थिक विकास हुने र देश सम्वृद्धितर्फ लम्कने छ भन्नेमा आयोग पूर्ण विश्वस्त छ’, उनले भने। उनले मतदातालाई मतदानमा सहभागिता जनाएर समयमा निर्वाचन सम्पन्न हुँदैन कि भन्ने आशङ्का अन्त्य गर्न आग्रहसमेत गरेका छन्।

Bhansar Bivag
Argakhachi Cement