काठमाडौं, २२ जेठ । चर्चित बालगायक मनिष लिम्बू र सुहाङको नयाँ गीत सार्वजानिक भएको छ । बेलायतमा रहेका नेम खापुङको रचना र संगीतमा तयार भएको ‘नहुनु जति धेरै…’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको हो । जुन गीतलाई बेलायतमै रहनुहुने थामबहादुर लिम्बूले भिडियो निर्माण गरी आफ्नै च्यानलमार्फत सार्वजानिक गरेका हुन् ।
भिडियोमा मनिष लिम्बू, उपसना नेम्बाङ, भीम थेबे, सागर खजुम, प्रेम राई, सरिता राई, अनु राई आदिले अभिनय गरेका छन् । त्यसैगरी केदार तिमिल्सिना तथा बालकहरु कोमल दास र सिद्धार्थ खनाललाई पनि भिडियोमा देख्न सकिन्छ ।
धेरैवटा म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेकी उपासना नेम्बाङले फरक खालको काम गर्नकै लागि ‘रिजर्भ’ बसेको बताएकी थिइन् । ‘सोसियल एक्टिभिष्ट’को भूमिका भनेपछि यस गीतमा अभिनय गर्न इच्छा जागेको बताइन् ।
माघेनी मेला, ए साइला, नौलो यो हाटैमा, तेह्रथुम बजार, सिनामको फेदमा लगायतका धेरै हेरिएको म्युजिक भिडियोमा अभिनय गरिसकेका भीम थेबेले यसपटक फरक भूमिकामा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । भीम पूर्व व्रिटिस आर्मी हुन् ।
भर्खरै पोखरामा भएको वीरविक्रम –२ को ‘प्रोमोश्नल अभियान’ सकेर आएका मनिषले अन्यभन्दा यस गीतको अभिनयमा काम गर्न अलि गाह्रो भएको बताए । सडक बालकले सडकबाटै सङ्घर्ष गरेर गीत गाउन, तथा स्कुल जान पाएको कथा भएकोले अभिनय गर्न गाह्रो भएको बताएका हुन् ।
त्यसैगरी गायक सुहाङ लिम्बूले मनिषसँग गाइएको मध्य यो गीत निकै आशावादी भएको बताएका थिए । राम्रो गीतको राम्रो भिडियो बनिरहेकोले उनी आशावादी बनेका हुन् ।
चुम्लुङ परिसर तथा तिखेदेवल, ताल्छिखेल वरिपरि छायांकन भएको म्युजिक भिडियोलाई युवराज राईले छायांकन गरेका हुन् भने प्रोडक्सन म्यानेजर विमल धमला हुन् । नेपालमा यस भिडियो छायांकनको लागि याक्थुङ हाक्पारे पालाम सयङले व्यवस्थापन गरेको थियो ।