मन्त्रीहरूको श्रेणी विभाजन

प्रकासित मिति: १९ श्रावण २०७५, शनिबार ०४:४२

‘रेड जोन’ र ‘ग्रिन जोन’ छुट्याएकै हुन् त प्रधानमन्त्रीले ?

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याबिनेटका मन्त्रीहरुको श्रेणी विभाजन गरिरहेको समाचारले आइतबार विभिन्न मिडियालाई ततायो । यति मात्रै नभई मन्त्रीहरुबीचमै सो समाचारले हलचल नै पैदा गरेको बताइन्छ ।
समाचारहरुमा आए अनुसार मन्त्रीहरुको कार्य प्रगति, काम गराइको शैली, जिल्ला भ्रमण आदि कुरालाई आधार बनाएर रेड जोन (जोखिममा), येल्लो जोन (निगरानीमा) तथा ग्रिन जोन (सन्तोषजनक काम) गरी तीन श्रेणीमा विभाजन गरेर प्रधानमन्त्रीले मन्त्रीहरूको मूल्यांकन गरिरहेका छन् । मन्त्रिपरिषदमा सबै मन्त्रीहरू जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रीहरुको मूल्यांकन गरिरहेको प्रधानमन्त्रीकै राजनीतिक सल्लाहकारले नै जानकारी दिएको बताइएको छ ।
मन्त्रीहरुले गरेको कामको प्रगति विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हरियो, पहेँलो र रातो श्रेणीमा मन्त्रीहरुको वर्गीकरण गरेको बारे आधिकारिक धारणा प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको छैन । तर अनौपचारिक स्रोतका अनुसार यो काम भित्रभित्रै भइरहेको छ ।
केही दिनअघि मात्रै विवादास्पद अभिव्यक्ति दिएर आलोचित भएका कानुन मन्त्री शेरबहादुर तामाङको पद गएको थियो । यही समयमा सबैभन्दा कमजोर कार्यक्षमता भएकालाई रातो दिइएको जनाइएको छ । ठीकै भएकालाई पहेँलो र चित्तबुझ्दो भएकालाई हरियो श्रेणीमा वर्गीकरण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ रेड जोनको एक नं. परेका छन् । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न नसकेको भन्दै महासेठलाई रातो श्रेणीमा राखिएको हो । यस्तै, कर्मचारी सरुवालाई व्यवस्थित गर्न नसकेको भन्दै लालबाबु पण्डितलाई पनि रातो श्रेणीमा राखिएको छ ।
सन्तोषजनक काम गरेका मन्त्रीलाई येल्लो जोनमा राखिएको छ । यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, वन मन्त्री शक्ति बस्नेत, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगर र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर रहेका छन् ।
सार्वजनिक रुपमा आलोचित भइरहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई पनि पहेँलो श्रेणीमा राखिएको जनाइएको छ ।
ग्रिन जोनमा भने गृहमन्त्री रामबहादुर थापा परेका छन् । यसमा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन र श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट समेत छन् ।
मन्त्रालयले गरेको प्रगति,मन्त्री र सचिवले मन्त्रालयमा दिएको समय र कार्यप्रगति , मन्त्रीको स्वकीय सचिवालयको भूमिका र सचिवालयका बारेमा आएका गुनासालाई आधार मानेर मन्त्रीको वर्गीकरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको भनाइ छ ।
तर यो निर्णयबारे अधिकांश मन्त्री बेखबर रहेको जनाइएको छ । कतिपय मन्त्रीका स्वकीय सचिवहरुले आफूहरुलाई यसमा विश्वास नरहेको बताएका छन् ।
.प्रधानमन्त्रीले सबै मन्त्रीको काम हेर्ने गरेको तर श्रेणी विभाजन नै चाहिँ नगरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन् । उनका अनुसार संवेदनशील सरकार र संवेदनशिल प्रधानमन्त्री रहेको बेला मन्त्रीहरुबाट प्रधानमन्त्रीले सन्तोषजनक आशा गरेका छन् । प्रधानमन्त्री कार्यालयले कुनै पनि विषयमा अहिलेसम्म सम्बन्धित मत्रालयका मन्त्रीसँग वान टु वान छलफल समेत नगरेको उनको भनाइ छ ।
उता, यो समाचार बाहिर आएसँगै प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीच समन्वयको अभाव देखिएको सन्देश जाने र यसले आफुहरुमा काम गर्न समेत तनाव बढाउन सक्ने केही मन्त्रीहरूको भनाइ छ । आफूहरुलाई समेत थाहै नभएको कुरा कसरी समाचारमा आयो, यसबारे मन्त्रीहरुमा बहस र चासो भने बढेको स्रोतले जनाएको छ ।
कतिपय मन्त्रीले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले अनावश्यक चासो राखेको पनि बताएका छन् । बाहिर आए अनुसारको श्रेणी विभाजनले भने धेरैको चित्त नबुझेको एक मन्त्रीले बताए । उनका अनुसार बजेट, अनावश्यक कर वृद्धि, महँगी सेयरबजारका कारण अर्थमन्त्री आलोचनमा छन् तर उनलाई ग्रिन जोनमा राखिएको छ । यसले त काम गरौँ भन्ने मन्त्रीहरूको समेत मनोबल गिराउँछ ।

Bhansar Bivag
Argakhachi Cement