काठमाडौं । सभ्य, अनुशासित निकाय मानिनुपर्ने व्यवस्थापिका संसदमा बेलाबेला केही अमर्यादित घटना हुन्छन् । आइतबारको बैठकमा पनि भारतले राप्रपालाई एकीकरण गराएको, आन्तरिक मामिलामा घुसपैठ गरेर देशलाई विखण्डनमा धकेल्न भुमिका खेलेका र एमालेलगायत पार्टी विभाजनमा सहायक भएको आशयको मन्तव्य सांसदले दिएपछि संसदमा हंगामा मच्चियो । संसद बैठक शुरु हुनासाथ प्रमुख विपक्षी एमाले लगायत अन्य साना बामपन्थी पार्टीका सांसदहरू उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए ।
विपक्षी सांसदहरु उठेपछि सभामुख ओनसरी घर्ती मगरले नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरलाई बोल्ने समय दिएकी थिइन् । उनले संविधान संशोधन नेपाली जनताको माग नभई भारत सरकारको चाहना बमोजिम हुन लागेको आरोप लगाइन् । साथै उनले भारतीय गुप्तचर ‘र’का पूर्व प्रमुख केही दिनदेखि नेपालमा रहेर विभिन्न सेटिङ मिलाइरहेको आरोप पनि लगाइन् । आफ्नो अनुकुल संविधान संसोधन गराउन दुई तिहाई बहुमत र्पुयाइदिनकै लागि राप्रपा र राप्रपा नेपालको एकीकरण रातारात नाटकीय ढंगले गराएको र एमाले फुटाउन समेत षड्यन्त्र गरिरहेको भन्दै भारतप्रति छेड हानेपछि संसदमा नियमापत्ति जनाइयो ।
सांसद थापा मगरको भनाइ सकिनासाथ राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएका थिए । उनीहरूले त्यो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेपछि केहीबेर होहल्ला भयो । सांसद थापा मगरले भारतीय दूतावासमा गएर भोज खाने मधेशी मोर्चाका नेताहरुले मधेशी जनताको नाममा भारत सरकारको सेवकको काम गरिरहेको समेत आरोप लगाइन् । विदेशीको इशारामा ल्याएको संविधान संशोधन बिधेयक फिर्ता नभएसम्म संसद बैठक अघि बढ्न नदिने बताएपछि सभामुखले केहीबेर विपक्षी सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरिन् । तर प्रमुख विपक्षी सहित विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उभिएर बसेको अवस्थामा संसदको कारवाही अघि बढ्न नसक्ने भन्दै सभामुखले मंसिर २२ गतेसम्मका लागि बैठक स्थगित गरेकी छिन् ।