माग पूरा नहुदाँसम्म अनशन जारी रहन्छ : प्रा डा केसी

प्रकासित मिति: २७ पुष २०७४, बिहीबार १४:३०

१४औँ अनिश्चितकालीन आमरण अनशन शुरु

काठमाडाँै २७ पुस प्रा डा गोविन्द केसीले आफ्नो अनशन जारी राख्ने बताउनुभएको छ । अदालतको अवहेलना मुद्दामा पक्राउ परी बुधबार साधारण तारेखमा छुटेपछि आज पे्रस विज्ञप्ति जारी गर्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा डा केसीले आफ्ना माग पूरा नभएकाले अनशन जारी रहने स्पष्ट पार्नुभएको छ ।

“अदालतको सम्मानप्रति मेरो सधैँ सम्मान रहेको छ”, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “प्रधानन्यायाधीशबारे मैले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिएर सर्वोच्च अदालतले उहाँलाई न्यायिक छानबिनको दायरामा ल्याएकोमा सो आदेशको प्रशंसा गर्दछु ।”

छानबिनपछि सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गर्दै प्रा डा केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानमा आफ्ना बाँकी माग पूरा नहुञ्जेल आफ्नो अनशन जारी रहने बताउनुभयो ।

चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि १४औँ अनिश्चितकालीन आमरण अनशन शुरु गर्नुभएको थियो ।

प्रधानन्यायाधीशको राजीनामा र उहाँले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उहाँलाई अदालतको अवहेलना गरेको आरोपमा सोमबार साँझ नै पक्राउ गरिएको थियो । प्रा डा केसी चार वर्षअघि बर्खास्तमा परेका संस्थानका डीन डा शशि शर्मालाई सर्वोच्च अदालतले पुनःबहाली गरेपछि त्यस कदमविरुद्ध उत्रनुभएको हो । उहाँले प्रहरी हिरासतमा पनि अनशन जारी राख्नुभएको थियो ।

गत मंगलबार र बुधबार अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिँदै प्रा डा केसीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले बुधबार प्रधानन्यायाधीश पराजुलीका दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो ।

वरिष्ठ चिकित्सक प्रा डा केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा भनिएको छ, “प्रधानन्यायाधीश गोपाल पराजुलीको काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिसमेत झिकाउनू ।”

अदालतमा मंगलबार बयान लिँदा प्रधानन्यायाधीश पराजुलीका दुई नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा प्रा डा केसीले प्रश्न उठाउनुभएको थियो ।

आदेशमा अदालतले प्रा डा शर्मालाई आइओएमका डीनमा पुनःबहाली गर्न प्रधानन्यायाधीश पराजुली सहभागी भएर गरेको फैसलाको मिसिलसमेत झिकाउन भनिएको छ ।

अदालतले सो मुद्दामा सुनुवाइ सकिएपछि प्रा डा केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिँदै भनेको छ, “डा केसीको स्वास्थ्य अवस्थालाई समेत विचार गरी हाललाई उहाँलाई साधारण तारेखमा राखी निजको तर्फबाट बहसमा उपस्थित हुन वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारबाही गर्नू ।” प्रा डा केसीले उठाउनुभएका बाँकी मागको सम्बोधन हुनुपर्ने भनी आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement