गुलरिया, बर्दिया, २६ कात्तिक नेकपा (एमाले)का उपाध्यक्ष एवं बर्दिया क्षेत्र नंं १ का उम्मेदवार वामदेव गौतमले गुलरिया नगरपालिकाअन्तर्गत पर्ने मूर्तिहा नाका एक वर्षमा सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार अभियानको क्रममा गुलरियामा आज आयोजित छलफल कार्यक्रममा उपाध्यक्ष गौतमले वाम एकताको प्रयास २०६३ सालदेखि नै शुरु भएको खुलासा गर्नुभयो ।
कर्मचारी संगठनको भेलालाई गुलरियामा सम्बोधन गर्दै उहाँले माओवादी र एमालेबीच एकताका लागि अहिलेसम्म करिब छ÷सात पटक भेला बसेको र अहिले आएर मात्रै एकता संभव भएको बताउनुभयो ।
“वाम गठबन्धनपछि हामी र कार्यकर्ता जति खुशी हुनुपर्ने हो, त्यति हुन सकेका छैनाँै तर त्यो भन्दा विपक्षीहरु चिन्तित र दुखित हुनुभएको छ”–उहाँले भन्नुभयो ।
बर्दिया क्षेत्र नम्बर १ प्रदेश (ख) का उम्मेदवार तिलक शर्माले वाम गठबन्धनको कार्यसमिति वडास्तरसम्म गठन भइसकेको जानकारी गराउँदै अबको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुन गइरहेको निर्वाचन कम्युनिस्टहरुको अग्नि परीक्षा जस्तै भएको बताउनुभयो ।