काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले शिक्षकहरुको ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा आवश्यक रहेको बताएको छ । प्रविधि र सञ्चारको विकाससँगै समयसापेक्ष हुनेगरी ट्रेडयुनियन अधिकारलाई समेत नयाँढंगबाट परिभाषित गर्नुपर्ने युएण्टोले माग गरेको छ । उपत्यकास्तरिय वृहत प्रशिक्षण तथा महासंघ कार्यशालामा बोल्दै युएण्टोका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले प्रविधियुक्त शैक्षिक विकास र समृद्धिका लागि शिक्षकहरुको ट्रेडयुनियन अधिकारलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताउनुभयो । उहाँले श्रमको मुल्यलाई समेत नयाँ ढंगबाट परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । शिक्षक आन्दोलन लामो समयदेखि अधिकार प्राप्तिमा मात्रै केन्द्रित रहँदा शैक्षिक सुधार ओझेल परेको भन्दै अधिकारीले ट्रेडयुनियनको पुरानो परिभाषा बदल्दै त्यसलाई युग सुहाँउदो बनाउनुपर्ने बताउनुभयो । ‘अब एकजना शिक्षकले एकैकोठामा बसेर लाखौं विद्यार्थीहरु पढाउन सक्ने भएका छन् । प्रविधिको प्रयोगले बिस्तारै मानव जनशक्तिको प्रयोग घटिरहेको छ ।’ उहाँले भन्नुभयो– ‘अब आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्ने स्थिति रहेन, एकै घण्टामा सयौं घण्टा काम गर्न सकिने स्थिति बन्यो ।’ अधिकारसँगै कर्तव्यलाई समेत जोडेर सँगसँगै लग्दै प्रविधियुक्त पढाइका लागि शिक्षकको ट्रेडयुनियन अधिकारलाई थप समयसापेक्ष र मजवुत बनाउन नयाँ ढंगले विकास गरिनुपर्नेमा अधिकारीले जोड दिनुभयो । प्रविधिमैत्री शिक्षक र सिकाइ साथै, शैक्षिक समृद्धिका लागि नयाँ शिक्षक एकताका साथ आफ्नो संगठनले समयसापेक्ष ट्रेडयुनियनको परिभाषा बदल्नुपर्ने माग राखेको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल शिक्षक महासंघका सह–अध्यक्ष रत्नबहादुर वलीले शिक्षकहरुलाई समयसापेक्ष प्रविधियुक्त शिक्षण सिकाइका लागि नयाँ ढंगले अधिकारको परिभाषा र विकास आवश्यक रहेको बताउनुभयो । अब बन्द, आन्दोलन, नारा, जुलुस मात्रै गर्ने हैन अब नयाँ ढंगबाट शिक्षकले शैक्षिक समृद्धिका लागि प्रविधिमैत्री शिक्षण सिकाई र सञ्चार प्रविधिमा दक्ष बन्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा संगठनका उपत्यका इन्चार्ज पुष्प न्यौपानेले अधिकारको मात्रै कसीमा शिक्षक आन्दोलनलाई अघि बढाउँदा शैक्षिक सुधार अलपत्र परेको भन्दै अब कर्तव्य सहितको अधिकारका लागि ट्रेडयुनियन अधिकारलाई समेत नयाँढंगबाट परिभाषित गरिनुपर्ने बताउनुभयो । ‘अबको शिक्षक आन्दोलन सिकाइ आन्दोलन बन्नुपर्दछ ।’ उहाँले भन्नुभयो –‘नयाँ श्रमको परिभाषा र मुल्यका साथ युएण्टो शिक्षक महासंघको निर्वाचनमा होमिनेछ ।’ कार्यक्रममा युएण्टो काठमाडौंका अध्यक्ष भिमप्रसाद पोखरेलले युएण्टो ‘प्रविधियुक्त शैक्षिक विकास र समृद्धिमा शिक्षकहरु जुटौं, नयाँ परिभाषा सहितको ट्रेडयुनियन अधिकारका लागि एकीकृत शिक्षकलाई मतदान गरौं ।’भन्ने नाराका साथ महासंघको निर्वाचनमा होमिएको बताउनुभयो । अब नयाँ श्रमको मुल्य र परिभाषा सहितको ट्रेडयुनियन अधिकारका लागि युएण्टोले अभियान चलाउने उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा संगठनका उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुरका)का ५०० बढी अगुवा कार्यकर्ताहरको सहभागिता रहेको थियो । उनीहरुलाई माओवादी केन्द्रका नेताहरु हितमान शाक्य, पुष्पविक्रम मल्ल लगायतले महासंघमा हार्ने छुट नभएको प्रशिक्षण दिनुभएको थियो ।