दीपक आचार्य
अंग्रेजी भाषाको विद्वान् भएर प्राध्यापन पेशामा अब्बल ठहरिनु भएका अनुपेन्द्र ईश्वर आचार्यले पहिलो पटक श्रीमद्भागवद्गीतालाई सरल लोकलयमा लेखेर छुट्टै पहिचाँन बनाउनु भएको छ भने बालकदेखी बृद्ध सम्मले पठ्न र त्यसको सारलाई बुझ्न सक्ने भएका छन् । उहाँले लेख्नु भएको गीता माधुर्य नामक पुस्तकमा दिएको गीता सार र लोकलयमा लेखिएको गीता अब सबैको जनजिब्रोमा कण्ठस्थ भएर झुण्डन सक्दछ । यो गीता युवाहरुले पनि चासो दिएर पढ्न सक्ने गरेर लेखिएको छ ।
हुनत अंग्रेजी भाषाकै विद्वान् उहाँका पिता डा. गंगाप्रसाद आचार्यले पनि हिन्दु धर्मसंस्कृती र आध्यामिक जागरणका लागि यस्ता धेरै प्रयास गरेकाले नै उहाँलाई यस्तो काममा चासो बढेको अनुपेन्द्र बताउनु हुन्छ । हिन्दुहरुको प्रमुख ग्रन्थ गीतालाई सम्पूर्ण वेदहरुको सार भनिन्छ । १८ अध्याय र ७ सय श्लोक भएको गितालाई आचार्यले सबैले सजिलै बुझ्ने गरेर लेखेकाले अब देश विदेशमा युवाहरुले पनि यसमा चासो दिनेछन् ।
मान र निन्दा, सर्दी र गर्मी
समान ठानेमा ।
प्रिय नै त्यै हो, धर्ममा मेरो
शरण परेमा ।। १५७।।
यस्तो सरल र गाउन सजिलो हुने गरेर आचार्यले लेख्नु भएको गीताले सजिलै ज्ञान अर्जन गर्न चाहनेलाई सजिलो भएको छ । काठमाण्डौको रत्न पूस्तक भण्डारमा गीता माधुर्य किन्दै गर्नु भएका एक जना पाठकले पनि अन्य गीताको किताब पढ्न गारो भएको र यसले अब साच्चै गीतामा के रहेछ भनेर जान्न सजिलो हुने आशा व्यक्त गर्नु भयो । प्रसिद्ध बैज्ञानिकहरुले प्रसंसा गरेको गीतालाई हामि नेपालीहरुले नै प्राथमिकता दिन नसकेका बेलामा अनुपेन्द्र ईश्वर आचार्य जस्ता विद्वानहरुले यस्तो प्रयास गर्नु निक्कै सकारात्मक कुरा हो । अमेरिकी दार्शनिक एवं समाजशास्त्री हेन्री डचाभिड थोरोले पनि भावगत् गीताको प्रसंसा गर्दै लेख्नु भएको छ प्रत्येक बिहान म आफ्नो विचारशक्तिले भगवद्गीताको भव्य र विश्वोत्पत्ति विषयक ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु । त्यतिखेर यसका तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्तै निरीह र तुच्छ लाग्दछन् । वेदको एउटा ऋचा पनि म्यास्याचुसेट्स राज्यभन्दा अनेकौं गुणा ठूलो हुन्छ । फिलिपिन्सकी कवि, लेखक मेरिया क्रिस्टिना बेजार आफ्नै घरमा अपमानित, टाढा–टाढा सम्मानित पूर्वीय ज्ञानु शीर्षकमा लेख्नुहुन्छ, भागवत गीता र उपनिषद्का अंशहरू र पतञ्जलीको योगसूत्रमा डुब्दै थिए भने गीता मेरा लागि अत्यन्तै प्रिय ठहरिएको थियो । यसरी धेरै प्रसिद्ध बैज्ञानिकहरुले गीताबाट आफुले जीवन सिकेको बताएका छन् । आखिर विज्ञानको हरेक आविष्कारको खोजी विन्दु वा प्रस्थान विन्दु त हाम्रै पूर्वीय दर्शन नै रहेछन् । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भने झै जन्ने विश्वका बैज्ञानिकलाई यसको महत्व ठूलो छ तर हामी नजान्नेलाई खुर्पाको बिड जस्तो भैरहेको छ । हामी सँग भएका यस्ता बौद्घिक सम्पत्ति, जीवनदर्शनका कुरा, मानव सभ्यताका कुराको खोजी गर्नुपर्ने कार्यमा अनुपेन्द्र ईश्वर आचार्य जस्ता धेरै युवाहरु खटिन आवस्यक छ । अनुपेन्द्रको लोकलयात्मक यो गीताग्रन्थ गीता माधुर्य जस्तै सरल र मौलिक भाषाका ग्रन्थहरु लेखियो भने युवा वर्गले पनि पक्कै अध्ययन गरेर बुझ्न सक्ने छन् ।