रामेछाप । १६ ,फाल्गुण ,
२०७२ साल बैशाख १२ गते गोरखा केन्द्रबिन्दू भएर गएको विनाशकारी महाभूकम्पपछि पटक पटक पराकम्पन जाने क्रम अझै रोकिएको छैन । भूकम्पले निकै त्रसित बनाएको नागरिकहरुले पटक पटक आउने पराकम्पनले झनै त्रास निम्त्याएको छ । सोमबार रामेछाप जिल्लालाई केन्द्रबिन्दु बनाएर पटक पटक पराकम्पन आउदा नागरिकहरु त्रसित मात्र बनेका छैनन् घाईते समेत भएका छन् । बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछापको सुनारपानी केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको छ । त्यसको ४५ मिनेट पछि बिहान १० बजेर ६ मिनेट जादा रामेछापलाईनै केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरको पराकम्पन गएको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक पटक साना पराकम्पन जाने क्रम अझै जारी छ ।
सोमबारको पहिलो भूकम्पमा परि जिल्ला हुलाक कार्यालय रामेछापका सुब्बा कमल कटुवालको छोरा शाहिल कटुवाल गम्भीर घाइते भएको बताईएको छ । उनलाई सदरमुकाम मन्थलीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले भने भूकम्पले पारेका क्षेतिका बारे आधिकारीक जानकारी प्राप्त नभएको बताए । उनले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी निरिक्षक कुमोद ढुंगलेल संग कुराकानी भएको र प्रहरीमा पनि खासै क्षेतीका बारेमा जानकारी प्राप्त नभएको बताए । सोमबारको भूकम्पपनि गोरखा भूकम्पको पराकम्प भएको र अहिलेसम्म ४७९ पटक पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्युडभन्दा माथिको पराकम्पमात्र केन्द्रले सार्वजनिक गर्ने गरेको छ ।