काठमाडौँ । राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ।
उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरुमा बिहान १० बजे सुरु भएको मनोनयन दर्ता प्रक्रिया वेलुकी ४ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।
प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक पिछडिएका क्षेत्र वा अल्पसङ्ख्यकसहित आठ जनाका हिसाबले ५६ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने संवैधानिक प्रावधान छ। ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछन्। राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी २०५६ मतदाता छन्।