काठमाडौँ, । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिको मतदानबाट राष्ट्रियसभा बनेकाले उनीहरूको आवाज बनेर काम गर्ने दायित्व आफूहरूको भएको बताउनुभएको छ ।
‘राष्ट्रियसभा अभ्यास र अनुभव’ बारे सभाका सदस्यबीच आज भएको अन्तक्र्रियामा अध्यक्ष तिमिल्सिनाले सभालाई परिपक्क ढंगले अभ्यास गर्दै औचित्य पुष्टि गर्ने दायित्व आफूहरुको काँधमा आएको बताउनुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “हामी सातवटै प्रदेशबाट समान संख्यामा प्रतिनिधित्व गर्दै यहाँ आएका छौँ, त्यसैले केही फरक र राम्रो काम गरेर देखाउनुपर्छ ।”
पूर्व सांसद तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रियसभा स्थायी सदन र कानुन निमार्णमा जोड दिने भएकाले यसको औचित्य पृथक रहेको बताउनुभायो ।
देवकोटाले प्रतिनिधिसभाको काम जाँच्ने र सरकारको कामको अनुगमन गर्ने पनि राष्ट्रियसभाको दायित्वभित्र पर्ने बताउनुभयो । “राष्ट्रियसभाले पनि प्रि बजेट छलफल गर्नु उपयुक्त हुन्छ । बजेट बाँडफाँडमा समन्यायिक वितरण भयो कि भएन भन्ने राष्ट्रियसभाले हेर्न सक्छ” उहाँले भन्नुभयो ।
कार्यक्रममा बेलायती सांसद् इयान गीलले नेपाल बेलायतलगायत विकसित तथा प्रजातान्त्रिक राष्ट्रमाभन्दा समावेसीकरणमा अगाडि देखिएको बताउनुभयो ।