काठमाडौँ, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबै दलबीच समान मत हुनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘नेपालको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयक गोष्ठीका वक्ताले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताए । सुरक्षा नीति र परराष्ट्र नीतिको विषयमा कुनै पार्टी, वाद, सिद्धान्त र विचारभन्दा माथि उठेर सबैको साझा नीतिका रुपमा समृद्ध गर्नुपर्ने उनीहरुको भनाइ थियो । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले यसअघिको केपी ओली नेतृत्वको सरकारको पालामा मन्त्रिपरिषद्बाट राष्ट्रिय सुरक्षा नीति पारित गरी राजपत्रमा समेत प्रकाशित भइसकेको जानकारी दिँदै त्यसमा सबै दलको समर्थन रहेको टिप्पणी गर्नुभयो ।
उहाँले नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशील सिद्धान्तका आधारमा विदेश नीति तय गर्नुपर्ने जोड दिँदै त्यसबाट दायाँबायाँ जान नहुने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले राष्ट्र स्वाधीन नबनेसम्म जनता सार्वभौम हुन नसक्ने बताउँदै विगतमा भारतसँग भएका असमान सन्धि, सम्झौताको खारेजी प्रक्रिया अघि बढाउनु अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।
उहाँले विदेश नीत र सुरक्षा नीतिका विषयमा पार्टीभन्दा माथि उठेर सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।
मधेसी जनअधिकार फेरम नेपाल (लोकतान्त्रिक)का सांसद जितेन्द्र देवले नेपालको सुरक्षाको सन्दर्भमा राष्ट्रिय एकता, न्यूनतम सैनिक शक्ति र आर्थिक विकासका तीन विषयलाई एकसाथ लैजानुपर्ने सुझाव दिनुभयो ।
चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले आर्थिक, सामाजिक विकासबाट राष्ट्रिय सुरक्षाको समृद्धि र असल परराष्ट्र नीतिबाट अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउनुपर्ने बताउनुभयो । परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले दलबीच सुरक्षा र परराष्ट्र सम्बन्धका विषयमा साझा धारणा बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा परिषदको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका संयोजक विश्लेषक विधान आचार्यले ‘नेपालको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो