काठमाडौँ, १ फागुन । पूर्व राष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई राजनीतिक दलहरुले सस्थागत गर्न नसकेको बताउनुभएको छ ।
आज ‘टोटल’ राष्ट्रिय मासिक पत्रिकाको सार्वजनिक गर्दै उहाँले देशको परिवर्तन गर्न सबै दल एक ठाउँमा उभिए पनि त्यही परिवर्तनबाट प्राप्त उपलब्धिलाई भने संस्थागत गर्न दलहरु असमर्थ रहेका छन् भन्नुभयो ।
‘‘२०१७ सालदेखि अहिलेसम्म तीनवटा परिवर्तन सबै दल र नेपाली समुदाय एक ठाउँमा उभिएर म्भिव भएको छ’’ उहाँले भन्नुभयो– ‘‘तर राजनीतिक खिचातानीका कारण अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत हुन सकेका छैन । देश अस्थिरतामा रहेको छ । ’’
उहाँले राजनीतिक दलको सत्ता खेलमा लागेर देशमा अस्थिरता भएको आरोप लगाउनु भयो । ‘‘कसैले आउँदो चुनाव हेरेका छन् । भोलि कसरी शासन गर्ने भन्ने चिन्तामा दलहरु देखिन्छन्’’ उहाँले थप्नुभयो– ‘‘देशको शासन प्रणालीलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान छैन ।’’
उहाँले आफूले दुई÷चार महिना कुरेर भए पनि सबैलाई समेटेर संविधान जारी गरौँ भन्दा दलहरुले नमानेको उल्लेख गर्दै सत्ताको खेलमा लागेर त्यतिबेला संविधान जारी गरेको धारणा राख्नुभयो ।
‘‘मैले यो संविधानसभा हो प्रतिनिधिसभा होइन । अलि बढी मधेसको समस्यामाथि छलफल गरेर संविधान २÷४ महिना ढिलो जारी गरे केही हुन्न भनेको थिए’’ उहाँले भन्नुभयो– ‘‘तर दलहरुले सत्ताको खेलमा लागेर चाँडै जारी गरे । जसको परिमाण अहिले देखिँदैछ ।’’
उहाँले मधेसको समस्या राष्ट्रिय समस्या भएको भन्दै अहिलेकै संविधानभित्र रहेर मधेसको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
लोकतन्त्रलाई संस्थागत गर्नका लागि पत्रकारको अहम भूमिका रहेको उल्लेख गर्दै उहाँले देशको प्रणालीलाई स्थिरता बनाउनका लागि पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले राजनीतिकभन्दा विचारमूलक पत्रकारितामा बलियो हुँदै गएको बताउनुभयो ।
उहाँले ‘‘नेपाली समाजलाई बदल्न चुनौती रहेको भन्दै नेपाली समाजलाई परिवर्तन गर्ने पत्रकारिता गर्नुपर्ने जोड दिनुभयो ।
राष्ट्रिय समाचार समितीका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रिकाको सफलताको शुभकामना दिँदै राजनीतिकभन्दा सामाजिक कुरालाई पत्रिकाले समेट्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शीतल महतो, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रिकाको सफलताको शुभकामना दिनुभयो ।
इकोनोमिक रिफर्म मिडिया प्रालिद्वारा प्रकाशित पत्रिकाको सल्लाहकार सम्पादकमा धर्मेन्द्र झा र सम्पादकमा मोतिलाल पौडेल रहनु भएको छ ।