पोखरा, गाउँगाउँमा लुकेर रहेका प्रतिभा खोजीका लागि इमेज च्यानलले ‘इमेज लोक कलाकार’ प्रतियोगिता अन्तर्गतको पोखरा अडिसन गर्ने भएको छ ।
यही भदौ २४ र २५ गते पोखरामा गरिने अडिसनमा विशेषगरी गण्डकी र धवलागिरि अञ्चलका जुनसुकै उमेर समूहका प्रतियोगीले भाग लिन सक्ने कार्यक्रमका कार्यकारी निर्माता अनुपा श्रेष्ठले बताउनुभयो । गण्डकी तथा धवलागिरि क्षेत्र लोकगीतको उर्वर भूमि मानिन्छ ।
पोखरा अडिसनका लागि लोक कलाकारको नाम दर्ता प्रक्रिया सुरु भइसकेको इमेज च्यानलका पोखरा समाचारदाता प्रदीप पौडेलले जानकारी दिनुभयो । पोखरा अडिसनपछि धरान र काठमाडौँमा प्रतियोगिता हुने जानकारी दिँदै कार्यक्रमका उप–कार्यकारी निर्माता अनुषा पौडेलले प्रतिस्पर्धाका विजेतालाई इमेज च्यानलले एक लाख रुपैयाँ नगद, एक भिडियो र एक एल्बम निकालिदिने बताउनुभयो ।
साथै विजेताले इमेज टेलिभिजनको उकाली–ओरालीमा कार्यक्रम प्रस्तोताको अवसरसमेत पाउने जनाइएको छ ।