लोडसेडिङ अन्त्य ः इच्छाशक्ति र कुशल व्यवस्थापन

प्रकासित मिति: २२ मंसिर २०७३, बुधबार ०९:३९

काठमाडौँ । विगतका वर्षमा हिउँद लागेपछि जनता नेपाल विद्युत प्राधिकरणलाई सराप्न थाल्थे । लोडसेडिङ बढेर १० घण्टादेखि १८ घण्टासम्म पुग्थ्यो । तर यसपटक कुशल व्यवस्थापनका कारण काठमाडौैंमा तिहारपछि लोडसेडिङ भएकै छैन । हाल केन्द्रीय प्रसारण लाइनमा १ हजार २८६ मेगावाट विद्युत् माग छ । भारतबाट समेत आयात गरिएको विद्युत् समेत जोड्दा कुल ८८६ मेगावाट मात्रै विद्युत् आपूर्ति भइरहेको छ । यति हुँदाहुँदै पनि काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती नभएकोमा जनतामा खुसीको रौनक मात्रै छाएको छैन, अचम्मै लागेको छ धेरैलाई । उपत्यका बाहिर पनि औसतमा दुईदेखि चार घन्टा मात्रै विद्युत् कटौती गरिएको छ । जोकोही अचम्म मान्छन्, कसरी सम्भव भयो एकाएक लोडसेडिङको अन्त्य ?

इच्छाशक्ति र कुशल व्यवस्थापन गरिएकै कारण प्रणालीमा कुल ४०० मेगावाट विद्युत् अपुग भए पनि राजधानी काठमाडौँ, काभ्रेपलाञ्चोक, धादिङ, रसुवा र नुवाकोटलाई विद्युत्भार कटौती मुक्त गर्न सकिएको हो । माथिल्लो मस्र्याङ्दी, हेवा खोलालगायत केही आयोजनाबाट हाल ४५ मेगावाट मात्रै विद्युत् उत्पादन थप भएको छ । केही आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केन्द्रीय प्रणालीमा विद्युत् पनि जोडेका छैनन् । तर विद्युत्भार कटौती भने नगन्य मात्रामा रहेको छ । प्राधिकरणका अनुसार हाल भारतबाट करिब २८० मेगावाट विद्युत् आयात भइरहेको छ । निकट भविष्यमा नै थप २५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ ।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, ‘हामीले व्यवस्थापन मात्रै गरेका छौँ जसका कारण सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको छ । यसमा जनताको थप साथको आवश्यकता छ ।’ गत वर्ष प्राधिकरणले विद्युत् आपूर्ति कम भएको भन्दै मङ्सिर महिनादेखि नै दैनिक छ घन्टा विद्युत् कटौती गर्दै आएको थियो । प्राधिकरणले गत असार, साउन र भदौमा समेत विद्युत् आपूर्ति कम भएको भन्दै दैनिक सात घन्टासम्म विद्युत् कटौती गर्दै आएको थियो । सातापिच्छे नै विद्युत् कटौतीको सूचना सार्वजनिक गर्ने प्राधिकरणले यस वर्ष भने कुनै सूचना सार्वजनिक नगर्ने र सकेसम्म मुलुकभर नै विद्युत् कटौतीमुक्त गर्ने योजना बनाएको छ । यसका लागि विद्युत स्रोत थप गर्दै जाने, चुहावट नियन्त्रण गर्ने र जनताको घरदैलोमा नयाँ कम खपत हुने तर टिकाउ बढी हुने एलइडी चिम वितरण गर्नेजस्ता योजना कुलमानले अघि सारेका छन् ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार निरन्तर विद्युत् उपलब्ध हुन थालेपछि काठमाडौँ उपत्यकामा रहेका करिब दुई लाख इन्भर्टरले खपत गर्ने विद्युत्समेत प्रणालीमा नै रहेका कारण विद्युत् आपूर्ति सहज भएको हो । ती इन्भर्टरले करिब १०० मेगावाट विद्युत् खपत गर्ने गरेका थिए । नदीमा जलस्तर घट्दै जाँदा कसरी सन्तुलन मिलाउने भन्ने चिन्तामा भने प्राधिकरण यतिबेला परेको छ । तर इच्छा शक्ति भए कुनै समस्या नपर्ने धारणा सार्वजनिक गर्दै अगाडि बढेको प्राधिकरणले ढल्केबर सवस्टेशनबाट आगामी पुस १५ देखि थप ८० मेगावाट विद्युत् जोड्ने तयारी गरेको छ । यस्तै, कुशाहा–कटैया प्रसारण लाइनबाट ५० मेगावाट, रक्सौल–परवानीपुरबाट ५० मेगावाट र टनकपुरबाट थप ३० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement