प्रतिनधिसभा तथा प्रदेशसभा चुनावको मतपरिणाम लगभग अन्तिम चरणमा पुगेको छ ।
नेपाली कांग्रेसका ठूला नेताहरूले हार्नु यो निर्वाचनका लागि कुनै नौलो कुरा रहेन । किनकी विउको रुपमा केही नेताहरु जोगिएको भए पनि प्रत्यक्षतर्फको निर्वाचन परिणामले कांग्रेसलाई रसातलमै पुर्याइदिएको छ ।
यो बीचमा बलियो ठानिएको वाम गठबन्धनका दुई ठूला नेता पनि निर्वाचनमा नराम्रोसँग पछारिएका छन् । यी दुई नेता वाम गठबन्धनका ठूला नेताहरु मात्रै होइनन्, एमाले र माओवादीलाई मिलाएर वाम गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेताहरू हुन् ।
संसदीय प्रणालीमा गएपछि देशमा दुई ठूला कम्युनिष्ट पार्टी नचाहिने भन्दै एमाले नेता वामदेव गौतमले माओवादी र एमाले एकिकरणको डिस्कोर्ष शरु गरेका थिए । अहिलेको वाम गठबन्धन बनाउन गौतमले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको एमाले नेताहरू बताउँछन् । तर निर्वाचन परिणाममा ७ सय ७ मत अन्तरले हार्दै एमाले नेता गौतम ब्याक भएका छन् ।
एमाले र माओवादी मिलाउने सवालमा अरु नेताको भूमिका शायदै गौतमसँग तुलना होला । धेरै वर्ष पहिले दुई पार्टीको एकिकरणको कुरा चलाएका उनी केपी ओली एमालेको नेतृत्वमा पुगेपछि पार्टी भित्र महत्वपूर्ण भूमिकामा थिए ।