काठमाडौं : मुलकमा राजनीतिक स्थायित्व र स्थिर सरकार स्थापना गर्ने उद्देश्यका साथ निर्माण भएको वाम गठबन्धनले त्यसमा आबद्ध साना दलहरुलाई प्रयोग मात्रै गरेको आरोप लागेको छ । साना दलहरुलाई पनि गठबन्धनमा सामेल गराउँदै संसददेखि सरकारसम्म प्रतिनिधित्व गराउने आस्वासन दिएर अन्तमा वाम गठबन्धनका प्रमुख दुई पार्टी नेकपा एमाले तथा माओवादी केन्द्रले धोका दिएको साना दलहरुले बताए छन् । एमाले माओवादीले आफ्नै प्रतिबद्धता समेत भुलेर गठबन्धनमा सामेल अन्य दलहरुलाई असहयोग गरिरहेको गुनासो ती दलहरुले गरेका छन् ।
साना दलहरुको समेत भोट पाएर बहुमतका साथ विजयी बनेपछि वाम गठबन्धनले उनीहरुलाई उपेक्षा गरेको गठबन्धनमा आबद्ध एक दलका नेताले बताए । साना दलले गठबन्धनलाई जिताउन अहोरात्र सक्रिय भूमिका खेलेको बताउने उनी एमाले र माओवादीबाट अन्तिममा आएर धोका भएको बताउँछन् ।
वाम जिताउन अहोरात्र भूमिका खेल्नेमा नेपाल परिवार अग्रणी मानिन्छ । परिवार दलका अध्यक्ष एकनाथ ढकाल स्वयं पनि एमालेका नेताहरुलाई जिताउन प्रत्यक्ष खटेका थिए । एमालेका केपी ओली, माधव नेपाल लगायत शीर्ष नेताका चुनावी सभामा सामेल भएर उनले आफ्ना कार्यकर्ता तथा मतदातालाई समेत सूर्य चिन्हमा भोट हाल्न अपिल गरे । उनी संलग्न कार्यक्रममा झनै उत्साह र रौनकसहित परिवार दलका कार्यकर्ताहरु परिचालित थिए ।
धेरै प्रतिनिधिसभा तथा प्रदेश सभामा गठबन्धनका उम्मेद्वारहरुले एक सयभन्दा कम मतान्तरले मात्र जित हात पारेका छन् । काठमाडौं क्षेत्र नं. ३ ‘ख’मा गठबन्धनका उम्मेद्वार रामेश्वर फुयालले ७३ मतअन्तरले मात्र जित हासिल गरे । झण्डै आधा दर्जनभन्दा बढी स्थानमा थोरै मतअन्तरले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यसो हुनुमा गठबन्धमा आबद्ध साना दलहरुको भोटले महत्वपूर्ण काम गरेको साना दलको नेताहरुको बुझाइ छ ।
परिवार दलजस्ता साना दलहरुकै सक्रिय सहभागिताका कारण वाम गठबन्धनले झण्डै दुईतिहाइ नजिकको बहुमत प्राप्त ग¥यो । तर जितपछि चाहिँ वाम गठबन्धनका मुख्य घटक एमाले–माओवादीमा अहंकार पलायो र उनीहरुले आफूलाई जिताउन भूमिका खेलेका साना दलहरुलाई चटक्क बेवास्ता गरे । उता, नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहयोग गरेको अखण्ड पार्टी नेपालका कुमार खड्कालाई सांसदको पद दिइयो । अखण्ड पार्टीको दोस्रो संविधान सभामा १ सिट थियो । तैपनि कांग्रेसले पछिल्लो निर्वाचनमा आफूलाई गरेको सहयोगको गुन बिर्सेन । मालेबाट कांग्रेसमा गएकालाई उसले सांसद बनाएको छ । यति मात्रै नभई कांग्रेसले पार्टी एकीकरण गरेको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देवलाई राष्ट्रिय सभाको सदस्य बनाएको छ ।
तर, वाम गठबन्धनमा आबद्ध नेपाल परिवार दल, मधेस समता पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी, समाजवादी जनता पार्टी, जनजागरण पार्टीलगायत कुनै पनि दललाई स्थान दिइएको देखिएन । यसले के देखाउँछ भने सबैको सहयोग, समर्थन र भोट कुम्ल्याएर वाम गठबन्धनका मुख्य दलले अन्ततः उनीहरुमाथि विस्वाको कुठाराघात गरे । मधेस समता पार्टीका एक नेताले विजयपश्चात् वाम गठबन्धनमा अधिनायकवादी अहंकार हाबी भएको बताए । उनले पहिला प्रतिबद्धता नै जनाएर अन्तमा धोका दिनुले वाम गठबन्धनका एमाले–माओवादीको असली चरित्र उदांगिएको बताए ।
यसै सन्दर्भमा परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सम्पर्क गर्दा उनले भने, ‘हाम्रो दायित्व इमानदारसँग पूरा गरिसकेका छौं, अब गठबन्धनको मुख्य दल एमालेले हामीसँग गरेका वाचा पूरा गर्नुपर्छ ।’ उनले एमाले आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताउँदै थपे, ‘अरु केही बोल्न चाहन्नँ म । गठबन्धनलाई जिताउन हामीले आफ्नो दायित्व निर्वाह गरेका छौँ, अब एमालेले आफ्नो दायित्व पूरा गर्न बाँकी छ । हामी त्यो क्षणसम्मै पर्खिरहेका छौं ।’
देशैभरि जित हासिल गरेको गठबन्धनले आफूलाई जिताउन कुनै न कुनै किसिमले सहयोग गरेका साना दलहरुलाई पनि विस्वासमा लिई अगाडि बढ्दा गठबन्धनको भविष्य बलियो हुने देखिन्छ । कुनै जिम्मेवारी नपाए पनि साना दलहरुले वाम गठबन्धनको सरकारलाई अहिले पनि समर्थ गरिरहेकै छ्रन् ।