काठमाडौँ, २५ (कात्तिक) पूर्वप्रधानमन्त्री स्व कीर्तिनिधि विष्टको आज अन्त्येष्टि गरिएको छ ।
उहाँको धार्मिक परम्परानुसार पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको हो । विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी हुनुहुनथ्यो ।
लामो समयदेखि पेटको अर्बुद रोगबाट अस्वस्थ्य विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा आज बिहान १० बजे निधन भएको थियो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ । दुई वर्षअघि उहाँका श्रीमती र एक छोराको निधन भएको थियो । काठमाडौँको ठमेलमा जन्मनुभएका विष्ट चार पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई नेपाली राजनीतिमा नैतिकवान् नेताका रुपमा चिनिन्छ ।