व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत

प्रकासित मिति: २७ कार्तिक २०७४, सोमबार ११:१५

काठमाडौँ, २७ कात्तिकसहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले व्यक्तिगत स्वतन्त्रता र कानूनबमोजिम निजी सम्पत्तिको हक सुरक्षित राख्न लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा शेर्पा समुदायले आज जोरपाटीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले वाम गठबन्धन विजयी भए कानूनबमोजिम कर तिरेर आर्जन गर्न पाउने व्यक्तिगत सम्पत्तिको हक खोसिने भएकाले सचेत हुन आह्वान गर्नुभयो ।

“साम्यवादी सरकार बनेपछि राष्ट्रको विकासका लागि भन्दै व्यक्तिगत सम्पत्ति सरकारीकरण गरिनेछ, त्यो स्रोत देशको विकास निर्माणमा नभई कम्युनिष्ट दलका नेताको ऐँस आरामका लागि प्रयोग गरिनेछ, यो अन्य कम्युनिष्ट देशको घटनाबाट उदाहरण लिएर पाठ सिक्नुपर्छ, यसैले सचेत नागरिकले आम मानिसमा जागरण फैल्याउनु जरुरी छ, नत्र पछि पछुताउनुको विकल्प छैन”– प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएकी नेत्री बस्नेतले भन्नुभयो ।

संविधान कार्यान्वयनका लागि गर्न लागिएको यो निर्वाचन लोकतान्त्रिक मूल्य मान्यताको संस्थागत विकास कि अधिनायकवादी चरित्रको राज्यसत्ता स्थापना भन्नेमा जनमत संग्रह भएको पनि उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले वामपन्थी दल राज्यका सबै निकाय कब्जा गर्ने उद्देश्यले रातारात गठबन्धन गरेर जनतामाझ आएकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ३ नं क्षेत्रको प्रदेशसभा (क) का उम्मेदवार छिरिङदोर्जे लामा, प्रदेशसभा (ख) का उम्मेदवार विमल ठकुरी, लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष हिमाली कान्छालगायतका वक्ताले व्यक्तिगत सम्पत्ति, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि शिक्षित वर्गले जागरण ल्याउनुपर्ने समय आएको बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement