उपराष्ट्रपति नन्दबहादुर पुनले शहीदको सपना पूरा गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्क निर्माण कार्यदल कार्य सम्पादन समितिले आज स्मारक निर्माणस्थल गोकर्णेश्वर नगरपालिकाको यज्ञडोल ९जगडोल० सामुदायिक वनमा आयोजना गरेको कार्यक्रममा उहाँले शहीद आस्थाको धरोहर भएको बताउनुभयो ।
“शहीदले सुशासन, समृद्धि र भेदभावको अन्त्यका लागि बलिदानी दिएका हुन्, यो सपना अब हामी जीवित रहनेले पूरा गर्नुपर्छ, शहीदका सपना पूरा गर्न हामी सबै आफ्नो स्थानबाट लाग्नुपर्छ”, उपराष्ट्रपति पुनले भन्नुभयो ।
काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले स्मारक निर्माण सम्पन्न गर्न सबै राजनीतिक दल एवम् पक्षको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
क्षेत्र नं ३ प्रदेशसभा ९क०का सांसद छिरिङदोर्जे लामाले शहीद स्मारक निर्माणमै ढिलाइ हुँदा राम्रो सन्देश नगएकाले छिटो निर्माण गर्न सम्बन्धित पक्षको ध्यान जानुपर्ने बताउनुभयो ।
क्षेत्र नं ३ प्रदेशसभा ९ख०का सांसद रामेश्वर फुयाँलले स्मारक निर्माण सम्पन्न गरेर श्रद्धाञ्जलिका लागि स्थल निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रका अध्यक्ष एवम् शहीद परिवारका सदस्य खिलानाथ दाहाल लगायतले शहीदको सपना पूरा गर्न पहिलो चरणमा स्मारककै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले निर्माण व्यवसायीका कारण स्मारक निर्माणमा ढिलाइ भएको बताउनुभयो । निर्माण व्यवसायीलाई चैतसम्मको समय थप गरिएको र थपिएको समयमा पनि नसके शान्ति तथा पुनःनिर्माण मन्त्रालयले अर्को ठेक्का आह्वान गर्ने उहाँले जानकारी दिनुभयो ।
स्मारक निर्माणका लागि हालसम्म रु २७ करोड ८२ लाख खर्च भएको समितिले जनाएको छ । मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको बैठकले गोकर्णमा स्मारक बनाउने निर्णय गरेको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।