काभ्रे ः पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले स्थायी शान्तिको आधार असल परिवार भएको बताउँदै शान्तिको बीउ परिवारबाटै रोप्नुपर्नेमा जोड दिएका छन् । बनेपामा आयोजित वैवाहिक पुनप्रतिबद्धता एवं पारिवारिक महोत्सवलाई सम्बोधन गर्दै मेयर न्यौपानेले नेपालको पारिवारिक मूल्यमान्यता जगेर्ना गर्नसके विश्वमा नै अनुकरणीय हुने बताए ।
सबभन्दा पवित्र धर्म ‘पतिव्रत र पत्नीव्रत’ हो भन्दै उनले यस मान्यताको जननी सनातन हिन्दु धर्म रहेको बताए । ‘भौतिक विलासिता भए पनि श्रीमान्–श्रीमतीबीच अविश्वास र घृणा छ भने त्यस्तो परिवार सधैँ दुःखी हुन्छ तर सामान्य जीवन जिएर पनि श्रीमान्–श्रीमतीबीच व्श्विास र प्रेम छ भने परिवार सुखी हुन्छ,’ उनले भने ।
उनले भौतिक साधन–श्रोत आवश्यक रहे पनि विश्वास, प्रेम र सह–सम्मानजस्ता मान्यता बिर्सन नहुने भन्दै उपस्थित ४०० दम्पतिलाई आ–आफ्नो सम्बध अनन्त कालसम्म मजबुत बनाइराख्ने प्रतिबद्धता जनाउन आग्रह गरे । न्यौपानेले सम्पूर्ण नेपाली परिवार स्वस्थ रहे मात्र समृद्ध नेपाल निर्माण हुन सक्ने भएकाले पारिवारिक शिक्षा र नैतिक मूल्य–मान्यतालाई प्राथमिकता राख्नुपनेए बताए ।
विश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोषकुमार पौडेले श्रीमान्–श्रीमती शान्त भए परिवारमा शान्ति कायम रहने र पारिवारिक शान्तिको समग्रताले नै समाज र सिङ्गो राष्ट्रमा दिगो शान्ति कायम रहने विचार व्यक्त गरे । पारिवारिक शान्ति नै समाज र राष्टको दिगो शान्तिको आधार रहेकोमा जोड दिए । उनले आदर्श परिवार निर्माण गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गनुपर्नेमा जोड दिँदै भने, ‘मानिसले सोचाइमा परिर्वतन ल्याउन सके समाज रूपान्तरण हुन घेरै समय लाग्दैन ।’ नेपालले राजनीतिक दलका नेता तथा आम नेपालीहरूले सिकेको कुरालाई व्यवहारमा उतार्न नसक्दा समस्या घट्नुको सट्टा झन्झन् बढ्दै गइरहेको बताए ।
परिवार बलियो भए मात्रै समाज र राष्ट्र बलियो हुने निष्कर्ष निकाल्दै संस्थाले परिवारका श्रीमान् र श्रीमतीलाई एकै ठाउँमा उपस्थित गराएर पारिवारिक मूल्य–मान्यतासम्बन्धी देशव्यापी रूपमा नैतिक जागरणको अभियान सञ्चालन गरेको छ । विश्व प्रसिद्ध शान्तिवादी आध्यात्मिक नेता डा. सन म्योङ्ग मुनले प्रतिपादन गरेको सिद्धान्तका आधारमा शिक्षा दिने गरिएको संस्थाका अध्यक्ष सन्तोष कुमार पौडेलको भनाइ थियो ।
समारोहमा त्यस क्षेत्रका ४०० विवाहित जोडीको सहभागिता थियो । सहभागी सबैलाई स्वागत गर्दै समाजसेवी पूर्णकुमार श्रेष्ठले श्रीमान्–श्रीमती दुवै एक–आपसमा मिलेर अगाडि बढ्न नसकेमा विभिन्न पारिवारिक समस्या आउने बताउँदै पनौति नगरका व्यक्तिहरूलाई पारिवारिक शिक्षा दिन पाएकोमा खुशी व्यक्त गरिन् ।
कार्यक्रममा सहभागीहरूलाई पारिवारिक मूल्य–मान्यतासम्बन्धी प्रशिक्षण दिँदै शान्ति अभियन्ता प्रकाशबाबु थापाले भने, ‘जेसुकै कार्य गर्दा पनि निश्चित सिद्धान्त चाहिन्छ । मुखले भन्दैमा समाजमा शान्ति ल्याउन धेरै असम्भव कुरा हो, जबसम्म त्यस प्रतिबद्धतालाई व्यवहारमा उतार्न सकिँदैन । त्यसका लागि पहिले श्रीमान् र श्रीमतीभित्रै शान्ति हुनु आवश्यक छ ।’ उनले हामीले जे कार्य गर्दछौँ, त्यो आफ्नो लागि नभई अरूका लागि हो भन्ने कुरा अहिलेको मानव पुस्ता सबैले बुझ्नुपर्नेमा जोड दिए ।
अहिले समाजमा यौनिकता जस्तो संवेदनशील विषयलाई जथाभावी व्याख्या गरिदिँदा समाजमा विभिन्नखाले विकृतिहरूको जन्म भएको बताउँदै थापाले भने, ‘विवाहपछिको यौन निजी हुन्छ, यौन पवित्रतालाई कायम राखिराख्न सके आधा समस्या त्यसै हल भएर जाने कुरामा दुई मत छैन ।’
समारोहमा सहभागिहरूले श्रीमान् तथा श्रीमतीको भुमिकाको बारेमा धेरै कुरा बुझ्न पाएको प्रतिक्रिया दिँदै सिकेको कुरालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता समेत जनाए । सो कार्यक्रमको संयोजन जितेन्द्र श्रेष्ठले गरेका थिए । काशीनाथ खनालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए ।
६ जनालाई शान्तिदूत सम्मान
यसैबीच, विभिन्न क्षेत्रबाट समाज रूपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने पनौती क्षेत्रका ६ जना व्यक्तिहरूलाई शान्तिदूतको सम्मान प्रदान गरिएको छ । पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा कुमार सुवाल, डा. सुदन लाल स्याउला, महेश कुमार कर्माचार्य, शिला अमात्य, शुरेश सैँजु, ओमकृष्ण रहेका छन् ।