शाश्वतधाम नवलपुरमा ५ दिने आचार्य स्वाध्याय वर्ग सम्पन्न

प्रकासित मिति: २२ बैशाख २०७६, आईतवार १२:३५

नवलपुर । नेपालमा हाल सञ्चालनमा रहेका गुरुकुलका आचार्यहरूका लागि शाश्वतधाम नवलपुरमा ५ दिने आचार्य स्वाध्याय वर्ग सम्पन्न भएको छ । गुरुकुलका सञ्चालक आचार्यहरूलाई उत्साहित र क्रियाशील बनाउनुका साथै आगामी कार्य्दिशा तय गर्ने उद्देश्यका साथ सञ्चालित यस स्वाध्याय वर्गमा देशभरका करीव १०० गुरुकुलका प्रतिनिधिहरूको सहभागिता थियो । नेपाल शिक्षण परिषद् गुरुकुल प्रभागको आयोजनामा २०७६ वैशाख १३ देखि १७ गतेसम्म सम्पन्न यस कार्यक्रममा शाश्वतधाम सहआयोजकको भूमिकामा रहेको थियो ।
वि.सं २०७६ वैशाख १३ गतेका दिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा आचार्य स्वाध्याय वर्गको समुद्घाटन भएको थियो । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति कोइरालाले गुरुकुल परम्परा नेपालको विशिष्ट पहिचान भएकोले यसलाई सबैले जोगाउनुपर्नेमा जोड दिए ।
नेपाल शिक्षण परिषद्का अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा परिषद्का अन्तर्रा्ष्ट्रिय समन्वयकर्ता डा.गुरुप्रसाद सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने गुरुकुल प्रभागका संयोजक डा.श्रीराम अधिकारीले पाँच दिने कार्यतालिका एवम् यसले आचार्यहरुमा ल्याउने ज्ञान तथा सीपगत गहिराइका सम्बन्धमा चर्चा गरेका थिए ।
प्रा.डा. विद्यानाथ कोइराला, काठमाण्डौ विश्वविद्यालयका प्रशासकीयप्रमुख मुकुन्द उपाध्याय, चौधरी ग्रुपका वरिष्ठ महाप्रवन्धक तथा शाश्वतधाम प्रमुख नारायण श्रेष्ठले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको सो कार्यक्रममा शाश्वतधाममा सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुलम्का प्रधानाचार्य विष्णुप्रसाद घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको कुशल सञ्चालन नेपाल शिक्षण परिषद्का महासचिव डा. वासुदेवकृष्ण शास्त्रीले गरे ।

गुरुकुलका आचार्यहरूको प्रशिक्षणको रूपमा सञ्चालित स्वाध्यायवर्गमा प्रत्येक दिन विहान ५ बजेदेखि प्राणविद्याको चिन्तन, योगानुशासन, सामूहिक सन्ध्योपासनसँगै यज्ञानुष्ठान समेतका विभिन्न कार्यक्रमहरू सम्पन्न भएका थिए । कार्यक्रमको दोस्रो, तेस्रो, चौथो दिनमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, भारतीय दूतावासका प्रथम सचिव एवं विवेकानन्द सांस्कृतिक अध्ययन केन्द्रका प्रमुख डा. केदारनाथ शर्मा, पाणिनीय व्याकरणका विद्वान्न् डा. भोलानारायण रेग्मी, भाषाशास्त्री डा. प्रेमप्रसाद चौलागाई समेतले कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो भने परिषद्का अध्यक्ष डा.रामकृष्ण तिमिल्सिना, काठमाण्डौ विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द उपाध्याय, संस्कृतिविद् डा. गोविद टण्डन, वयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेल, स्वामी केशवानन्द गिरी, स्वामी सुभाव चैतन्य, अच्युत प्रपन्नचार्य, स्वामी, केशव चैतन्य, लौरेश्वर बाबा, यागी अमरनाथ, सहप्रा. डा. मतिप्रसाद ढकाल, तुलसीशरण सिग्देल, मोहन लामा, गोदा सुवेदी, पुण्यप्रसाद तिमल्सिना लगायतका महानुभाव विद्वान् एवम् विदुषीहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
साथै भारतबाट पाल्नु हुने भारतीय शिक्षणमण्डलका संगठन महामन्त्री मुकुल काटनिकर, संयुक्त महामन्त्री प्रा.डा. उमाशंकर पचौरी, गुरुकुल प्रकल्पका सहसंयोजक डा. दीप कोइरालाले विशेष उद्वोधन गर्दै गुरुकुलशिक्षाका सम्बन्धमा मार्गदर्शन गरे ।

बैशाख १७ गतेका दिन भारतीय शिक्षणमण्डलका अखिल भारतीय संगठन महामन्त्री मुकुल काटनिकरको प्रमुख आतिथ्यमा समापन समारोह सम्पन्न भयो । त्यस अवसरमा उनले आधुनिक शिक्षापद्धतिबाट असन्तुष्ट भएको आजको विश्व समुदायले मानवताको रक्षाका लागि गुरुकुल शिक्षालाई स्वीकार गर्न चाहिरहेको वताउँदै आगामी १५ वर्षमा गुरुकुल शिक्षा विश्वभर मूलशिक्षाको रुपमा स्थापित हुने दाबी समेत गरे ।
कार्यक्रममा शाश्वतधामका प्रमुख कार्यकारी नारायण श्रेष्ठले शाश्वतधामका उद्देश्य र विभिन्न गतिविधिको चर्चा गर्दै शाश्वतधामका समग्र योजनाबाट सनातन धर्म र संस्कृति जगेर्ना गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सनातन शाश्वत संस्कृतिको संरक्षणका लागि हिन्दु, बौद्ध, जैन, सिख लगायत ओंकारपरिवारभित्रका सबै धर्म संस्कृतिहरुको साझा गन्तव्यको रुपमा शाश्वतधामलाई विकसित गर्दै लाने चर्चा गर्दै यसका लागि सवैसँग सहकार्य गर्न शाश्वतधाम तयार रहेको धारणा प्रस्तुत गरे । श्रेष्ठले शाश्वतधामले अब उपरान्त आयोजना हुने सम्पूर्ण आचार्य स्वाध्यायवर्गको सहआयोजना गर्ने प्रतिबद्धता जनाउदै निकट भविष्यमानै नेपाल शिक्षण परिषद सँगको सहकार्यमा शाश्वतधाममा नेपालमै पहिलोपटक मातृकुल सम्मेलन समेत आयोजना गर्ने जानकारी दिए ।
अर्का वरिष्ठ महाप्रवन्धक रामभक्त के.सी.ले सवैलाई धन्यवाद प्रदान गर्नुभएको समापनसमारोह गुरुकुलशिक्षालाई नेपालको मूलशिक्षाका रूपमा स्थापित गर्न, गुरुकुल शिक्षाको मूलस्वरूपको संरक्षण एवम् वेदवेदाङ्ग, चतुर्दशविद्या÷अष्टादशविद्याका स्वाध्याय प्रणालीलाई संरक्षण गर्न, आधुनिक मण्टेश्वरीको विकल्पमा प्राचीन मातृकुलशिक्षाका माध्यमले पौरस्त्य वाङ्मयको मूलमर्मलाई विस्तार गर्न, आधुनिक शिक्षाप्रणालीमा गुरुकुल शिक्षाका विषयवस्तुहरुलाई समावेश गर्न, अध्ययनअनुसन्धान, संगठनविस्तार, आचार्य लगायत गुरुकुल शिक्षासम्बद्ध सवैको स्तरवृद्धि गर्न भावी कार्यक्रम तय गरिने निर्णय गरी सम्पन्न भयो ।

साथै कार्यक्रमा शाश्वतधाममा सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुलम्का आचार्यबाट शुक्लयजुर्वेद, सामवेद र कृष्णयजुर्वेद वेदको पाठ तथा शाश्वतधाममा सञ्चालित कर्मकाण्ड गुरुकुलम्का विद्यार्र्थीहरुबाट वैदिक मंगलाचरण सहित स्वागतगान गरिएको थियो ।

Bhansar Bivag
Argakhachi Cement