आदिकवि भानुभक्त आचार्यको जीवनका महत्वपूर्ण कालखण्ड र घटनाक्रमहरुलाई समेटिएको नाटक ‘रात चिर्न्या भानु’को मन्चन शुरु भएको छ । प्रभाकर न्यौपानेको लेखन तथा निर्देशनमा यहि आईतबार देखि बत्तिसपुतलीको शिल्पी थियटरमा यस नाटकको मन्चन शुरु भएको हो । आईतबार देखि शुरु भएको यो नाटक यहि शनिबार सम्म मन्चन हुनेछ । मंगलबार बाहेक हरेक दिन साँझपाँच बजेदेखि मन्चनहुने नाटकको शनिबार अतिरिक्तशो दिउँसो साढे एक बजे पनि राखिएको छ ।
झण्डै डेढ दशक देखि नाटक लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रहेका निर्देशक न्यौपानेले आदिकवि भानुभक्तको जीवनका केही महत्वपूर्ण र प्रेरणदायी अंशलाई नाट्य रुपान्तरण गरेकाहुन् ।
भानुभक्तको जीवनका तीन कालखण्डलाई उनले यस नाटकमा समेटेका छन् । उनले नाटकलाई यथार्थपरक बनाउन तत्कालिन परिवेशमा उतार्ने प्रयास गरेको बताए ।
नाटकमा प्रकेश सिन्धुलीयले भानुक्तको भूमिका निर्वाह गरेका छन् भने साक्षी लम्साल भानुक्तको श्रीमतीको भूमिकामा छिन् । त्यस्तै बासुदेव खनाल घाँसीको भूमिकामा छन् । पुष्पराज अवस्थी आचार्य पण्डित धर्मदत्तको भूमिका निर्वाह गरेका छन् भने अभिनेत्री राधा श्रेष्ठ गजाधरकी श्रीमतीको भूमिकामा छन् । त्यस्तै अन्य कलाकारहरुमा राजन भुजेल , प्रेम पौडेल, प्रल्हाद खरेल, रमेश दाहाल,चाँदनी शाही लगायत छन् । सेट परिकल्पना जीवन बरालले गरेका हुन् ।